आजको कोरोना संक्रमितको संख्या डेढ महिना यता कै सबैभन्दा कम
काठमाडौँ, २७ असार । नेपालमा झण्डै डेढ महिना पछि कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या एक सय भन्दा तल झरेको छ । ‘कोभिड – १९ मिडिया अपडेट’मा पछिल्लो २४ घण्टाको रिपोर्ट सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार ७० जना नयाँ संक्रमित थपिएको बताए ।
यो संख्या १२ जेठ यताकै सबैभन्दा कम हो । गत १२ जेठमा ७९ जनामा संक्रमण देखिएको थियो । त्यसको भोलिपल्ट १३ जेठमा ९० र पर्सी पल्ट १४ जेठमा ११४ पुगेको थियो । १४ जेठ यता एक सय भन्दा कम .नयाँ संक्रमित भेटिएको आजै हो ।
खासगरी भारतबाट आउनेको संख्या ह्वात्तै बढेपछि नेपालमा नयाँ संक्रमितको ग्राफ उकालो लागेको थियो । यद्धपी यो बीचमा परीक्षणको दायरा समेत बढाइयो । परीक्षण दायरा बढाउँदा गत १९ असारमा एकै दिन ७४० जना नयाँ संक्रमित भेटिएका थिए । तर असारको अन्तिम साता लाग्दै गर्दा संक्रमित ग्राफ ओरालो लाग्न थालेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार ११८ जना नयाँ संक्रमित थपिएका थिए । विहीबार त्यो संख्या १०८ थियो । बुधबार २५५ र मंगलबार २०४ थियो ।
नयाँ संक्रमितको संख्या केही तलमाथि भएपनि क्वारेन्टाइन र आइसोलेसनमा रहनेको संख्या समेत घटदो क्रममा रहँदा नयाँ संक्रमण ठूलो संख्या आउदैन कि भन्ने अनुमान समेत गर्न सकिन्छ । यद्धपी कतिपय विज्ञहरुले संक्रमण समुदायमा छिरेको खण्डमा यो भन्दा भिन्न रुपमा ग्राफ बढ्ने भन्दै सरकारलाई थप सजगता र तयारीमा रहन सुझाव दिएका छन् ।
साढे ५० प्रतिशत संक्रमित निको भए
यसैबीच प्रवक्ता डा. गौतमले भाइरसको संक्रमणमा परेकामध्ये ५०.४९ प्रतिशतले कोरोना जितेको बताए । शनिबारसम्म देशभर पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या १६ हजार ७१९ पुगेको छ ।
ती मध्ये ८ हजार ४४२ जनाले कोरोना जितेर घर फर्केका छन् । शनिबार मात्रै ४३१ जना कोरोना भाइरसमुक्त भई आइसोलेसनबाट घर फर्केका छन् ।
कोरोना संक्रमणमै परेका ३८ जनाको भने ज्यान गएको छ ।
सम्पर्क इमेल : [email protected]