एकीकृत एम्वुलेन्स र ट्रमा सेवा कसरी सञ्चालन गर्ने ? नीतिका लागि बन्यो मस्यौदा समिति

काठमाडौँ, १८ असार ।  सरकारले नीति तथा कार्यक्रममा घोषित एकीकृत एम्वुलेन्स सेवा तथा ट्रमा सेवा सञ्चालन सम्वन्धमा मस्यौदा तयार गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै छ सदस्यीय मस्यौदा समिति गठन गरेका हुन् ।

उक्त समितिको संयोजकमा त्रिवि शिक्षण अस्पतालका प्राडा प्रदीप बैद्यलाई मनोनयन गरिएको छ ।

यस्तै सदस्यहरुमा डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टर, सकुन्तला प्रजापति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटीका अधिकत प्रतिनिधि र एनएसआईका डा अनिल श्रेष्ठ रहेका छन् ।

समितिको सदस्यसचिवको जिम्मेवारी भने मन्त्रालयका डा समिरकुमार अधिकारीले पाएका छन् ।

मस्यौँदा तयार गर्न उक्त समितिलाई आउँदो असार मसान्तसम्मको समयावधी दिइएको छ ।

गत १५ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोनमा सम्पर्क गरी नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ भनेकी थिइन । त्यसबेला उनले प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गरिनेछ भनेर समेत उल्लेख गरेकी थिइन ।

स्वास्थ्य मन्त्री ढकालले सोही नीति तथा कार्यक्रमलाई कार्यान्वनय ल्याउने तयारी स्वरुप मस्यौदा समिति गठन गरेका हुन् । उनले नीति तथा कार्यक्रममा आएका स्वास्थ्यका अन्य विषयमा समेत मस्यौदा समिति गठन गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *