रोटा भाइरसबिरुद्धको नयाँ खोप बिहीबारबाट शुरु हुँदै

काठमाडौं, १७ असार । सरकारले बिहीबार (भोलि) देखि रोटा भाइरसबिरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा ल्याउने भएको छ । बालबालिकाको मृत्युको मुख्य कारकतत्व मध्येको एक झाडापखला र झाडापखला गराउने मुख्य तत्व रोटाभाइरस बिरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा आएपछि राष्ट्रिय खोप कार्यक्रममा समावेश निशुल्क खोपको संख्या १२ पुग्नेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्त खोप शाखा प्रमुख डा झलक गौतमले स्वास्थ्य मन्त्रालयमा भर्चुअल कार्यक्रम गरी नयाँ खोप शुभारम्भ गरिने जानकारी दिए ।

‘कोरोना र लकडाउनका कारण धेरै मानिस भेला भएर खोप लन्चिङ गर्ने अवस्था रहेन । त्यसैले स्वास्थ्य मन्त्रालयमा गएर हामीले मन्त्री ज्यू मार्फत यो कार्यक्रम गर्ने छौँ र त्यो नेपाल टेलिभिजन र फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण हुनेछ । त्यस लगत्तै जिल्ला तथा स्थानीय तहबाट स्वास्थ्यकर्मीहरुले खोप सञ्चालन गर्नेछन्,’ उनले भने ।

ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी)को सहयोगमा युनिसेफले पठाएको ३ लाख २४ हजार भाइल रोटाभाइरस विरुद्धको खोप ‘रोटारिक्स’ असारको पहिलो साता काठमाडौँ आईपुगेको थियो । खोप आए लगत्तै महाशाखाले सातवटै प्रदेश मार्फत जिल्ला तथा स्थानीय तहमा पुर्‍याएको थियो ।

डा गौतमले यो खोप जन्मेको ६ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक दिइने बताए । ‘यो खोप बच्चाहरुमा मुखबाट दिइन्छ । एक पटकमा १.५ एमएल दिइन्छ र यो खोप स्वयंसेविकाले होइन स्वास्थ्यकर्मीबाट दिईन्छ,’ उनले स्पष्ट पारे ।

कान्ति बाल अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागि भर्ना भएका ५ बर्ष मुनिका बालबालिकामा अध्ययन् गर्दा ३८ प्रतिशतमा रोटा भाइरस देखिएको थियो । पानी जस्तो पातलो पखला लगाउने र बच्चाहरुलाई जलवियोजन गराई तत्काल ज्यान जाने अवस्था आउने गर्दछ ।

नेपालमा बर्षमा ६ लाख २० हजार बालबालिका जन्मने गर्दछन् । ‘त्यसैले बर्षमा ६ लाख २० हजार भाइल खोप आवश्यकता पर्दछ । अहिले ३ लाख २४ हजार भाइल आइपुगेको छ । अब नियमित रुपमा यो खोप अन्य खोप जस्तौ आउँछ,’ डा गौतमले भने ।

सरकारले रोटाभाइरस विरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने घोषणा गरेको थियो । तर खोपको उपलव्धतामा समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ बर्ष पछि हुन गएको छ ।

सरकारको नियमित खोप कार्यक्रममा अहिलेसम्म वीसीजी, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) पोलियो, पीसीभी, जेई, एमआर र एफआईपीभी खोप छ । रोटा शुरु भएपछि नियमित खोपमा १२ वटा पुग्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *