स्वास्थ्य मन्त्रालयमा पत्रकार प्रवेशमा अवरोध नहुने
काठमाडौँ, ६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवेशद्धारमा पत्रकारमाथि गरिएको प्रवेश कडाई अब हटने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार प्रवेशमा कुनै अवरोध नहुने बताएका छन् ।
उनले पत्रकार परिचयपत्र प्रेस पास बोकेका सञ्चारकर्मीले विनारोकतोक आईजाई गर्न पाउने स्पष्ट पारेका छन् । तर उनले कोरोना महामारीका बेला आवश्यक सावधानी अपनाउन र समस्याको गाम्भीर्यतालाई बुझिदिन संचारकर्मी समक्ष आग्रह गरेका छन् ।
कोरोना र शान्ति सुरक्षाको कारण देखाउँदै गत २१ बैशाख देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार तथा अन्य सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा कडाई गरेको थियो । मन्त्रालय भित्रका अधिकारीलाई टेलिफोन गर्ने र स्वीकृति दिएमा मात्रै प्रवेश गर्न पाउने नियम बनाएको थियो ।
स्वास्थ्य पत्रकारहरुले यसले सूचनाको स्रोत गोप्य राख्न पाउनु पर्ने अधिकारमाथि हस्तक्षेप गर्न खोजेको भन्दै विरोध गरेका थिए । स्वास्थ्य पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्चले विज्ञप्ती नै जारी गरी पत्रकार प्रवेशमा अवरोध सिर्जना गरेको प्रति विरोध जनाएको थियो ।
शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रालयको उदेश्य पत्रकारलाई रोक लगाउनु नभएको भन्दै कोरोना महामारीका बेला भिडभाड कम गर्नका लागि त्यसबेला त्यस्तो निर्णय लिइएको बताए ।
उनले पत्रकारहरुको गुनासो सुनेपछि यसलाई सच्याउने निस्कर्षमा पुगेको उल्लेख गरे । ‘तपाईँहरुको गुनासो मैले सुने, मन्त्रालयको पत्रकारलाई निशेध गर्ने नीति होइन । तर यहाँ निर गलत बुझाई भयो कि भन्ने लाग्यो । त्यसैले अब त्यसलाई सच्याइएको छ । पत्रकार परिचय पत्र (प्रेसपास) लगाएर आएकाहरुलाई मन्त्रालयमा कुनै अवरोध हुनेछैन्’ उनले भने ।
सो अवसरमा उनले कोरोना महामारीमा स्वास्थ्य मन्त्रालयका चालेका कदम र प्रयासका बारेमा जानकारी दिएका थिए । उनले यो महामारी विरुद्धको अभियानमा सञ्चारमाध्यमसंग सहकार्य गरेरै अघि बढ्न चाहेको बताए ।
स्वास्थ्य मन्त्रीले के भने ?
सम्पर्क इमेल : [email protected]