स्वास्थ्य राज्यमन्त्री रावतद्धारा त्रिवि शिक्षण अस्पतालको आकस्मिक निरीक्षण
काठमाडौँ, ३१ जेठ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले शनिबार विहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक निरीक्षण गरेका छन् ।
उनले अस्पतालमा उपचाररत केही विरामीसंग भेट गरेका छन् भने कोरोना महामारीकै बेला अस्पतालको ‘फ्रन्टलाइन’मा रहेर सेवा दिईरहेका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीसंग छलफल गरेका छन् ।
राज्यमन्त्री रावत अस्पतालमा उपचाररत केही विरामीलाई आर्थिक सहयोग गर्ने सञ्चारकर्मी एवं कलाकार कृष्ण कंडेलको अभियानमा समेत सहभागी भए ।
‘आज हामी आकस्मिक रुपमा त्रिवि शिक्षण अस्पतालमा पुगेका थियौँ । त्यहाँ जाँदा अस्पतालका कुनै पदाधिकारीलाई खबर गरेका थिएनौँ । हामीलाई बिरामीहरुसंग भेट हुन् थियो । ‘फ्रन्टलाइन’मा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको अवस्था पनि बुझ्न थियो । किनभने यसले हामीलाई तत्काल र दीर्घकालका लागि रणनीति बनाउन पनि सहयोग पुग्छ,’ राज्यमन्त्री रावतले भने ।
उनले अस्पतालमा विरामीको चापमा कमी, भर्ना हुने विरामीको संख्या समेत थोरै रहेको बताए । अस्पतालमा भेटिएका विरामी र तिनका आफन्तहरुले अस्पताल र स्वास्थ्यकर्मीको सेवाप्रति सन्तुष्ठ रहेको आफूलाई प्रतिक्रिया दिएको बताए ।
केही स्वास्थ्यकर्मीहरुले कोरोना महामारीको बीचमा काम गरिरहेको र पीसीआर परीक्षण गर्न नपाएको गुनासो गरेका थिए । जवाफमा राज्यमन्त्री रावतले स्वास्थ्यकर्मीको सुरक्षामा सरकार सम्वेदनशील भएको भन्दै परीक्षण पनि हुने र ढुक्कले सेवामा खटिन आग्रह गरेका थिए ।
विहान ८ बजे अस्पताल पुगेका राज्यमन्त्री रावतले त्यहाँ करीब एक घण्टा विताएका थिए ।
सम्पर्क इमेल : [email protected]