एक साता अघि युएईबाट उद्धार गरिएकी महिलामा कोरोना संक्रमण

काठमाडौँ, ३० जेठ । गत साता युनाइटेड अरब इमिरेट्स (युएई)बाट आएकी एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । बैदेशिक रोजगारी क्रममा युएईमा गएर अति समस्यामा परेका १५७ जना नेपालीलाई गत शुक्रबार ( २३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल ल्याइएको थियो ।

सोही टोलीको एक जना २६ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताए ।

आजको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँको एक जनामा कोरोना संक्रमण देखिएको बताएका थिए । सो संक्रमित भनिएको व्यक्ति तिनै महिला भएको डा . अधिकारीले पुष्टि गरे ।

गत शुक्रबार नेपाल आएकी ती महिलालाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन २४ जेठमा मुलपानीको क्वारेन्टिनमा सारियो । त्यहिबाट पीसीआर विधिबाट परीक्षण गर्न नमूना संकलन गरियो । आज रिपोर्ट पनि आयो तर पोजेटिभ आयो । सहप्रवक्ता डा अधिकारीले भने ।

रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई आजै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ । अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनी आएको चार्टर फ्लाइटका अन्य यात्रुको समेत कन्ट्याक्ट टेसिङ गर्ने छ ।

शुरुका दिनमा खाडी मुलुकबाट आउनेहरुमा कोरोना संक्रमण देखिएको थियो । उडान बन्द भएपछि संक्रमण रोकिएको थियो ।

पछिल्लो समय भारतबाट आएका ठूलो संख्यामा संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *