पछिल्लो चौविस घण्टामा ११४ जनामा देखियो कोरोना संक्रमण, कुल संख्या पुग्यो ८८६
काठमाडौँ, १४ जेठ । पछिल्लो चौविस घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना भाइरस (कोभिड १९)को परीक्षणमा ११४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना भाइरस पुष्टी भएको छ । जसमध्ये रौतहटका १८ जना, बाराका ८ जना र सिरहा २ जना रहेका छन् ।
यस्तै हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना देखिएको हो । जसमध्ये ७ जना रौतहटका र १ जना मकवानपुरका रहेका छन् ।
उता धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ ।
विराटनगरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये झापाको कचनकवल गाउँपालिका १५ र गौरादह नगरपालिकाका २ जना रहेको प्रवक्ता डा देवकोटाले बताए ।
यता गण्डकीप्रदेश तर्फ पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा कोरोना संक्रमण देखिएको हो । बाग्लुङ बढीगाड गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका २ जना, तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना पुरुषमा कोरोना देखिएको छ ।
उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १५ जना र रुकुम पूर्वका ३ जना गरी १८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १६ जनामा पनि कोरोना पुष्टि भएको छ ।
नयाँ संक्रमितसंगै देशभर कुल संक्रमितको संख्या ८८६ पुगेको छ । त्यसमा महिला ९० जना र पुरुष ७९६ जना रहेको छ ।
नेपालमा कोरोना संक्रमण देखिएयता आज सबैभन्दा बढी संक्रमित फेला परेको हो ।
सम्पर्क इमेल : [email protected]