स्वास्थ्य मन्त्री ढकाल सहित मन्त्रालयका १४७ जनाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना भाइरस परीक्षण गर्न मंगलबार विहान लिएको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्री ढकालले केही दिन अघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेका एक जना आफन्त (बिरामी)को कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका थिए ।
मंगलबार विहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरर्गतका स्वास्थ्यकर्मी निवासमा पुगेर उनको थ्रोट स्वाब लिएका थिए ।
विहान संकलिन नमूनाको रिपोर्ट दिउसो आएपछि मन्त्री ढकाल आजै अपरान्हदेखि नियमित काममा फर्केका छन् ।
यसअघि गत आइतबार मन्त्रालयमा राज्यमन्त्री नवराज रावत, सचिव यादव कोइराला सहित १४६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गर्न भन्दै नमूना संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।
कपिलवस्तुमा कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङबाट फर्केका एक जना चिकित्सक कोरोना परीक्षणका लागि थ्रोट स्वाव दिएर रिपोर्ट नआउँदै मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टरको कमाण्ड बैठकमा सहभागी भएका थिए । दुई दिन पछि उनको रिपोर्ट पोजेटिभ आएपछि मन्त्रालयको सबैको परीक्षण गरिएको हो । मन्त्रालयले ती चिकित्सकको रिपोर्ट आएको करीब एक साता पछि सबैको स्वाब संकलन गरेको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले भने, ‘मन्त्रालयबाट गत आइतबार जति जनाको नमूना संकलन भएको थियोे सबैको रिपोर्ट नेगेटिभ आएको छ । यो हामी सबैको लागि खुशीको कुरा हो ।’
देशमा कोरोना संक्रमणले गति लिँदै जाँदा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिने क्रममा पनि बढ्न थालेको छ ।
सम्पर्क इमेल : [email protected]