त्रिवि शिक्षण अस्पतालले पनि शुरु गर्यो पीसीआर परीक्षण
काठमाडौँ, १२ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड – १९)को परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले उपलव्ध गराएको मेसिनबाट अस्पतालले कोरोना परीक्षण सेवा शुरु गरेको हो ।
सोमबार अस्पतालमा आयोजित कार्यक्रममा त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले पीसीआर परीक्षणको उदघाटन गरे ।
अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले त्रिवि अस्पतालमा जडान भएको नयाँ मेसिनले एक पटकमा ९६ जनासम्मको कोरोना परीक्षण गर्न सक्ने बताए ।
उनले पहिलो चरणमा अस्पतालमै संकलन भएका ३० जनाको नमूना परीक्षण शुरु गरिएको बताए । उनले रिपोर्टका लागि करीब ५ घण्टा लाग्ने भन्दै आवश्यकता अनुसार दुई चरणमा पनि परीक्षण अघि बढाउन सकिने बताए ।
त्रिवि शिक्षण अस्पतालमा परीक्षण सुरु भएसँगै नेपालमा पिसिआर परीक्षण हुने स्थानको संख्या २० पुगेको छ।
सम्पर्क इमेल : [email protected]