कोरोना जितेर आज १९ जना ‘डिस्चार्ज’
काठमाडौँ, १० जेठ । कोरोना भाइरस(कोभिड१९)को संक्रमणमा परी विभिन्न अस्प्तालमा उपचार गराईरहेका १९ जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा रुपन्देहीस्थित कोरोना विशेष अस्पतालबाट १० जना र पर्सास्थित नारायणी अस्पतालबाट नौँ जना रहेका छन् ।
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलस्थित धागो कारखानामा बनाइएको प्रादेशिकस्तरको कोरोना विशेष अस्पतालबाट आज १० जना डिस्चार्ज भएको जानकारी सामाजिक संजालमा पोष्ट गरेका छन् ।
यता कोरोना विशेष अस्पतालका बरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले दुई साता अघि संक्रमणमा परी अस्पताल भर्ना भएकाहरुको पछिल्लो दूईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको बताए ।
यता कोरोना संक्रमणपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना भएका ९ जना पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका छन् । डिस्चाज हुनेमा ३ जना पर्सा, २ जना बारा, ३ जना रौतहट र एक जना भारतीय नागरिक छन् ।
गत १४ बैशाखमा डिस्चार्ज भई पुन कोभिड पोजेटिभ देखिएपछि दोहोरयाएर आएकाहरु पनि आज डिस्चार्ज भएको मेसु डा मदनकुमार उपाध्यायले बताए ।
यो संगै नेपालमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८९ पुगेको छ । देशमा कोरोना संक्रमितको संख्या भने ५८४ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ३ जनाले ज्यान गुमाएका छन् ।
सम्पर्क इमेल : [email protected]