थप ३६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौँ, १० जेठ । देशका विभिन्न जिल्लामा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा झापा, बर्दिया, बाँके, बैतडी र सुर्खेतका रहेका छन् ।
यो संगै कुल संक्रमितको संख्या ५८४ जना पुगेको छ । यसमध्ये महिला ७९ र पुरुष ५०५ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नयाँ संक्रमितमा शिवनाथ गाँउपालिका बैतडी निवासी ४ जना पुरुषहरु जो आरडीटी परीक्षणमा पोजेटिभ देखिएका थिए, उनीहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा समेत रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरुको सेती अस्पताल धनगढीको प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरुको उमेर २०, २०, २२ र २७ बर्षका पुरुषहरु हुन् ।
यस्तै कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा झापा गाँउपालिका झापास्थित डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ बर्षिय पुरुषमा संक्रमण देखिएको छ ।
यता देशमै सबैभन्दा बढी संक्रमित रहेको गाँउपालिका बाँकेको नरैनापुरमा आज फेरी ठूलो संख्यामा संक्रमित थपिएका छन् । डा देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षण गर्दा नरैनापुर मदरसामा ६ जना पुरुषमा संक्रमण देखिएको छ ।
उनीहरुको उमेर १७ देखि ३२ बर्ष रहेको छ । यस्तै नरैनापुर ३ गेगलीमा थप १५ जना र नरैनापुर एक बाँकेमै थप ६ जना पुरुषहरुमा यो संक्रमण देखिएको छ ।
यस्तै बर्दियामा एक जना १९ बर्षका किशोरलाई कोरोना संक्रमण देखिएको छ ।
डा देवकोटाले सुर्खेतको प्रयोगशालामा परीक्षण गर्दा एक महिला र दुई पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
आज विहान मात्रै काठमाडौँ सहित देशका विभिन्न जिल्लाका २५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो विवरण पछि नेपालमा कोरोनबाट संक्रमितको संख्या ५८४ जना पुगेको छ । यसमध्ये महिला ७९ र पुरुष ५०५ जना रहेका छन् ।
सम्पर्क इमेल : [email protected]