झापा र रुपन्देहीमा थप ९ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमित ४५३ पुग्यो
काठमाडाँै, ८ जेठ । झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना सम्वन्धी ‘मिडिया ब्रिफिङ’मा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
उनका अनुसार नयाँ संक्रमित व्यक्तिहरुमा एक जना रुपन्देहीमा र ८ जना झापामा भेटिएका हुन् ।
रुपन्देहीमा भेटिएका संक्रमित व्यक्ति २७ बर्षका पुरुष हुन् । उनी लुम्बिनीस्थित श्रीलंकन गेष्टहाउस क्वारेन्टाइन स्थलमा रहेका व्यक्ति हुन् ।
यस्तै झापामा १७, १८, १८,२०,२०,२३, ५२ र ५५ बर्षका पुरुषहरुमा कोरोना संक्रमण भएको छ । उनीहरु झापाको कचनकवल गाँउपालिकास्थित लक्ष्मीदेवकोटा माविको क्वारेन्टाइनस्थलमा रहेका पुरुषहरु हुन् ।
कचनकवलबाट आज विहान मात्रै थप १५ जनामा कोरोना संक्रमण भएको बताइएको थियो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । उपचारपछि निको हुने संख्या ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ ।
सम्पर्क इमेल : [email protected]