कोरोना जितेर टेकु अस्पतालबाट चार जना डिस्चार्ज
काठमाडौँ, ८ जेठ । टेकु अस्पतालमा उपचार गराईरहेका चार जना कोरोना संक्रमितको पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेको अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले बताए ।
‘डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला हुनुहुन्छ । उहाँहरुको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिदियौँ,’ डा राजभण्डारीले भने ।
टेकु अस्पतालमा गत ३१ बैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौँका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष नेकपा नेता भिम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी, हुन् । महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन् ।
अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले बैशाखको अन्तिममा भर्ना गरिएका चार जना संक्रमित डिस्चार्ज भएको बताए । उनले अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेको जानकारी दिए ।
यो चारसंगै कोरोना उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]