तीन दिनमा चार प्रदेशबाट झण्डै ४४०० नमूना संकलन गरिदै
काठमाडौँ, २५ बैशाख । कोभिड -१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले आगामी तीन दिन भित्र चार प्रदेशबाट ४ हजार ३७० जनाको नमूना संकलन गर्ने निर्णय गरेको छ ।
सीसीएमसीको बैठकले पीसीआर विधिबाट कोभिड -१९ को परीक्षण गर्न २६ देखि २८ बैशाखसम्म प्रदेश नं १ को उदयपुरबाट ५०० जना, प्रदेश नं २ को बारा र र पर्साबाट क्रमश २०० र ५०० जनाको नमूना संकलन गर्ने योजना अघि सारेको छ । यस्तै गण्डकी प्रदेशको तराईको जिल्ला नवलपरासी पूर्वबाट ४० जनाको स्वाव संकलन गर्ने योजना अघि सारेको छ ।
प्रदेश नं ५ मा नवलपरासी पश्चिमबाट १५० जना,अर्घाखाँची १८०, रुपन्देही ३००, गुल्मी २००, कपिलवस्तु ६००, प्युठान २००, बाँके १०००, र बर्दियामा ५०० जनाको स्वाव संकलन गर्ने योजना राखेको छ ।
नमूना संकलन गर्दा भारतबाट आइ क्वारेन्टाइनमा बसेका, उच्च जोखिम इलाकामा रहेका र कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै बैठकले संकलित नमूना प्रदेश नं १ र २ को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, गण्डकी प्रदेशको नवलपरासी पूर्व र प्रदेश नं ५ को नवलपरासी पश्चिमको चितवन, प्रदेश नं ५ कै रुपन्देही, अर्घाखाँची, गुल्मीको बुटवलको प्रयोगशालामा, कपिलवस्तु र बर्दियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने भएको छ ।
यस्तै योजनामा बाँके नेपालगञ्ज र प्युठानको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षण हुने व्यवस्था मिलाइएको छ ।
सीसीएमसीले संकलित नमूनालाई स्काइ ट्रक तथा जिल्लाका अन्य सवारीसाधनमार्फत सम्वन्धीत प्रयोगशालामा पठाउने व्यवस्था मिलाएको छ ।
सम्पर्क इमेल : [email protected]