नेपालको लकडाउन भारतमा भन्दा एक दिन पछिसम्म
काठमाडौँ, २४ बैशाख । सरकारले गत ११ चैत देखि जारी लकडाउनलाई ५ जेठसम्म लम्ब्याउनले निर्णय छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
स्वास्थ्यका अधिकारीहरुले आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटीमा केही परिवर्तन हुने आंकलन गरेका थिए । त्यसको लागि केही प्रस्ताव समेत बनाएका थिए । तर प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा लकडाउन खुकुलो बनाउनु आत्मघाती हुनसक्ने भन्दै लकडाउन जारी राख्ने निर्णय गराए ।
किन परिवर्तन गरिएन मोडालिटी ?
बैठकमा सहभागी एक जना मन्त्री भन्छन्, ‘भारतमा संक्रमण बढी रहँदा नेपालमा लकडाउन खुकुलो पार्नु आत्मघाती हुने प्रधानमन्त्रीको बुझाई रहयो । अर्को कुरा नेपाल पीसीआर टेष्टको दायरा पनि बढाउन सकिएको छैन् । पछिल्लो समय किट अभाव हुँदा पीसीआर टेष्टको संख्यामा कमि आएको छ ।’
हुन पनि भारतमा पछिल्लो समय संक्रमण दर बढेको छ । संक्रमितको संख्या ५० हजार पुग्न लाग्दा कोराना भाइरसबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ ।
त्यसो त मोदी सरकारले भारतभर जारी लकडाउनको अवधी १७ मे ( ४ जेठ) सम्म बढाएको छ । गत शुक्रबार त्यहाँको गृहमन्त्रालयले संक्रमण दर बढेको भन्दै लकडाउनको अवधी दुई साता लागि थप्दै १७ मे सम्म पुरयाएको हो । तर त्यहाँ केही राज्यहरुले उद्योग व्यवसायहरुका लागि केही खुकुलो पार्ने रणनीति समेत अघि सारेका थिए ।
नेपालमा पनि त्यहि अपेक्षा गरिएको थियो । तर अहिलेसम्म त्यस्तो रणनीति पास भएको भन्ने जानकारी छैन् ।
सम्पर्क इमेल : [email protected]