बेलायतका स्वास्थ्य मन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण
एजेन्सी । बेलायतका स्वास्थ्य मन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना संक्रमण हुने उनी बेलायती संसदको पहिलो सदस्य हुन् ।
अहिले उनले संक्रमणपछि गर्नुपर्ने सम्पूर्ण सुरक्षित उपाय अपनाउँदै आफ्नै घरमै आइसोलेसनमा रहेकी छन् । कोरोना भाइरसको संक्रमण बेलायतमा ३८२ जनामा देखा परिसकेको छ । जसमध्ये ६ जनाको मृत्यु भईसकेको छ । पछिल्लो पटक मृत्यु भएका एक जना ८० बर्षका पुरुष हुन् ।
संक्रमणको संख्या बढदै गएपछि युकेले प्रयोगशालाको क्षमता पनि बढाएको छ । अहिले दैनिक १० हजारसम्मको परीक्षण गर्न सकिनेछ । यद्धपी अहिलेसम्म १ हजार ५ सय जनाको मात्रै परीक्षण गरिएको छ । परीक्षण गर्ने अधिकांशको नतिजा २४ घण्टामै थाह हुन्छ ।
डोरिसमा भाइरस पोजेटिभ देखिएपछि त्यहाँको जनस्वास्थ्य कार्यालयले उनीसंग सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजविन शुरु गरेको छ ।
६२ बर्षीया डोरिसले मंगलबार ट्ीट गर्दै आफू प्रति सहानुभुति जनाउने सबैमा धन्यवाद दिएकी छन् तर उलने आफूसंगै रहेकी ८४ बर्षीया आमाको समेत आज परीक्षण हुने भन्दै त्यसको सम्भावित नतिजाबारे चिन्तित रहेको बताएकी छन् ।
त्यसो त यो साता डोरिसले आफ्नो निर्वाचन क्षेत्रमा कतिवटा बैठकमा सहभागी भएकी थिइन भन्ने खुलिसकेको छैन ।
उनी पछिल्लो समय प्रधानमन्त्री बोरिस जोन्सन सहभागी कार्यक्रम थिइन । गत विहीबार उनमा लक्षण देखा परेको थियो । शुक्रबार उनको जाँच भएर आइसोलेसनमा बस्न थालिसकेकी थिइन ।
यो घटना पछि जनस्वास्थ्य कार्यालयले अरु स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवको समेत कोरोना भाइरस परीक्षण गर्ने योजना गरेको छ । उनीहरु समेत घरमै आइसोलेसनमा बसेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]