साउदीबाट आएका एक जना नेपालीमा कोरोनाको आशंका, विमानस्थल हेल्थ डेस्कले टेकु पठायो
काठमाडौ, २१ फागुन । कोरोनाको आशंकामा एयरपोर्ट हेल्थ डेस्कले साउदी अरबबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोनाको आशंका गर्दै त्रिभुवन विमानस्थल हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको छ ।
गयराती ९ बजे साउदीबाट आएका एक जना नेपाली पुरुषको विमानस्थल हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले इन्फाइराइड थर्मामिटरबाट जाँच गर्दा १०० डिग्री भन्दा बढी तामक्रम देखिएको थियो ।
‘हिजो राती ९ बजे तिर साउदीबाट स्वदेश फर्केका एक जना नेपालीमा १०० डिग्री बढी तापक्रम देखियो । त्यसपछि हामीले तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्स प्रयोग गरी आइसोलेसनका लागि टेकु अस्पताल पठाईयो,’ हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले भने ।
त्यसो त एयरपोर्ट हेल्थ डेस्कले मंगलबार ( हिजो) मात्रै कुवेत र कतारबाट आएका थप दुई जनामा कोरोना आशंका गर्दै टेकु अस्पताल रिफर गरेको थियो ।
पछिल्लो समय मध्यपूर्वका विभिन्न देशमा कोरोनाको संक्रमण देखिएको छ । ती देशमा लाखौँ नेपाली रोजगारीका लागि पुगेका छन् ।
आजबाट देशबाट बाहिरिने यात्रुको पनि परीक्षण हुँदै
त्रिभुवन अन्तराष्टिय विमानस्थलले आजबाट देशबाट बाहिरिने यात्रुको पनि परीक्षण गर्ने भएको छ । नर्भिक अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले देशबाट बाहिरिने यात्रुको पनि परीक्षण गर्ने भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । बाहिरिने यात्रुको परीक्षणमा स्वास्थ्य मन्त्रालय अन्तरर्गतका स्वास्थ्यकर्मी भने खटिने छैनन् ।
एयरपोर्ट हेल्थ डेस्कमा २२ जना पुगे स्वास्थ्यकर्मी
एयरपोर्ट हेल्थ डेस्कमा स्वास्थ्य सेवा विभागले थप स्वास्थ्यकर्मी पठाएको छ । हिजो केही डाक्टर नर्स तथा प्यारामेडिक्स थपिएका छन् । पहिले १२ जना थियौँ । हिजो थप १० जना जति आउनु भएको छ । अब २२ जना पुगिएको छ । पाण्डेले भने ।
सम्पर्क इमेल : [email protected]