‘अभिभावकले धूमपान गर्दा सन्तानलाई दीर्घकालिन असर’
बीबीसी । एउटा अमेरिकी अनुसन्धानले धूमपान गर्ने अभिभावकसँगै हुर्किएका चुरोट नपिउने केटाकेटीहरूमा वयस्क भएपछि फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने जोखिम उच्च भएको जनाएको छ।
हरेक वर्ष प्रत्येक एक लाखको दरले धूमपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेका छन् र बाल्यकालमा हुने ‘प्यासिभ स्मोकिङ’ अर्थात् चुरोट पिउने मानिसहरूको वरपर रहेर हुर्किएमा त्यसले सो सङ्ख्यामा ‘थप सात जनाको मृत्यु’ पनि थपिदिने अनुसन्धानकर्ताहरू बताउँछन्।
अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९०० चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनको नेतृत्व गरेको थियो।
‘धूमपान परित्याग’
विज्ञहरू भन्छन्- बालबालिकालाई जोगाउने सबैभन्दा उत्तम तरिका भनेको धूमपान गर्न छोड्नु हो।
वयस्क अवस्थामा धूमपान गर्नेसँग बसेका मानिसहरूमा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि देखिएको सो अध्ययनले पत्ता लगाएको छ।
प्रत्येक हप्ता १० वा त्योभन्दा धेरै घण्टा चुरोटको धुवाँको सम्पर्कमा आएमा त्यसले ‘इस्कीमिक मुटुरोग’ का कारण ज्यान जाने जोखिम २७ प्रतिशतले बढ्छ।
‘इस्कीमिक मुटुरोग’ लाग्दा मुटुको धमनी साँघुरो भई रगत वा अक्सिजन कम प्रवाह हुनसक्ने अवस्था बन्छ।
त्यस्तै चुरोट नपिउनेभन्दा चुरोट पिउनेहरूमाझ हुर्किएका वयस्कमा मस्तिष्काघातका कारण २७ प्रतिशत तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४२ प्रतिशत रहेको उक्त अध्ध्यनले देखाएको छ।
उक्त अध्ययन ‘अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिन’मा प्रकाशित भएको छ।
अध्ययनका क्रममा सहभागीहरूलाई उनीहरू आजीवन चुरोटको धुवाँको कत्तिको सम्पर्कमा रहे भनेर प्रश्न गरिएको थियो र त्यसपछि अर्को २२ वर्षसम्म उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको थियो।
‘एक्शन अन स्मोकिङ एन्ड हेल्थ’ नामक अभियान समूहकी हेजल चिज्म्यानले भनिन्, ‘बालबालिकालाई जोगाउन उनीहरूको सम्पर्कभन्दा बाहिर रहेर चुरोट पिउनु पर्ने पछिल्लो अध्ययनले देखाएको छ। सबैभन्दा सही तरिका भनेको आमाबाबुले चुरोट पिउन नै छाड्नु हो।’
‘आजीवन जोखिम’
ब्रिटिश लङ फाउन्डेशनका स्वास्थ्य सल्लाहकार डाक्टर निक हप्किन्सनले ‘प्यासिभ स्मोकिङ’ को गम्भीर असर बाल्यकालपछि पनि हुने बताए।
चुरोट पिउने आमाबाबुका छोराछोरी दम तथा फोक्सो राम्रोसँग विकास नहुने समस्याको जोखिममा हुन्छन्।
सो अध्ययनले बाल्यकालमा चुरोटको धुवाँको सम्पर्कमा रहे त्यसको असर वयस्क अवस्थासम्म रहने र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्ने देखाएको छ।
सम्पर्क इमेल : [email protected]