सार्वजनिक विदाको दिनमा पनि चलाईयो शुक्रराज अस्पतालको ओपिडी
![](https://www.nepalihealth.com/wp-content/uploads/2019/09/2-1.jpg)
काठमाडौँ, २७ भदौ । डेंगी परीक्षण गराउन आउनेको संख्यामा कमी नभएपछि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । सोही अनुसार अस्पतालले आज पनि ओपिडी पूर्ण रुपमा सञ्चालन गरिरहेको छ । यसैगरी भोलि (शनिबार) पनि नियमित रुपमा सञ्चालन हुने अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले जानकारी दिए ।
अस्पतालमा अहिले दैनिक रुपमा ज्वरोका बिरामी ८ सय बढी आउने गरेका छन् । तीमध्ये ६ सय बढीलाई डेंगी परीक्षण गराईने गरेको छ ।
‘बिरामीको चाप नघटेपछि इन्द्रजात्राको आजको विदा र शनिबार भोलिको विदामा पनि ओपिडी बन्द नगर्ने निर्णय गरेका हौँ । यसमा ओपिडी मात्रै होइन ल्याव तथा सबै सेवा नियमित रुपमा सञ्चालन हुन्छन्,’ खतिवडाले भने ।
के के थपियो अस्पतालमा ?
डेंगीको संक्रमण फैलिएसंगै अस्पतालमा भिडी बढेपछि अस्पताले क्यास काउन्टरको दुईबाट बढाएर चार पुरयाएको छ । डेंगी परीक्षणकै सहजताका लागि भनेर अस्पतालले ओपिडी बाहेक दुईवटा फिवर क्लिनिक सञ्चालनमा ल्याएको छ । जहाँ चार चार जना मेडिकल अफिरसको युनिट रहने गरेको छ ।
यस्तै एउटा मात्रै कुटलर मेसिन भएको ल्यावमा बिहीबारबाट अर्को पनि मेसिन थपिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा मेसिन थपिएको खतिवडाले जानकारी दिए । सेवा विस्तार हुँदै जाँदा भिड नियन्त्रण गर्न सहज हुँदै गएको उनले जानकारी दिए ।
डेंगीको परीक्षण निशुल्क गर्ने राज्यमन्त्री यादवको घोषणा कार्यान्वयन भएन
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले केही दिन अघि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर डेंगीको परीक्षण तथा उपचार निशुल्क गर्न सम्वन्धीत अधिकारीलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म सो निर्देशन कार्यान्वयनमा आएको छैन् ।
अस्पतालले अहिलेकै अवस्थामा डेंगी परीक्षण निशुल्क हुन नसक्ने स्पष्ट पारेको छ ।
‘अहिले पनि हामीले डेंगी परीक्षण गराउनेसंग किटको ५ सय रुपैयाँ लिने गरेका छौँ । त्यसबाहेक रगतका अरु परीक्षण पनि गर्नुपर्ने हुन्छ । त्यसको पनि पैसा लिने गरेका छौँ । त्यसैले डेंगी संक्रमित एउटा विरामीले औषत १ हजार ५ सय बढी पैसा तिर्नुपर्ने हुन्छ । दैनिक ८ सय बढी विरामी आउने अस्पतालमा निशुल्क गर्न सम्भव छैन । हामीले मन्त्री ज्यूलाई समेत स्पष्ट पारिसकेका छौँ,’ खतिवडाले अगाडी थपे, ‘तर भर्ना भएका बिरामीको भने बेडचार्ज निशुल्क नै गरेका छौँ ।’
सम्पर्क इमेल : [email protected]