‘मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा किन परेन ?’
काठमाडौँ, २० भदौ । मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारको प्राथमिकता नदेखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले स्वास्थ्यका अरु क्षेत्रमा जस्तै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न जोड दिएका छन् ।
आत्महत्या रोकथाम सचेतना महिनाको सन्दर्भ पारेर शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र स्वास्थ्य स्वाबलम्बन संगठन (कोशिश)ले आयोजना गरेकोे ‘मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था र चुनौती’ कार्यक्रममा उनीहरुको यस्तो भनाई आएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा नपरेको स्वीकारे । ‘हामीले निकै कोसिस गर्यौँ तर यसलाई प्राथमिकतामा पार्न सकिएको छैन । किनभने यसमा लगानी गरे क्वालिटी अफ लाईफ सत प्रतिशत प्राप्त हुन्छ । तर पनि यो प्राथमिकतामा परेको छैन,’ उनले भने ।
मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.दिपेन्द्र रमण सिंह ले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै सरोकारवाल संस्थाहरु समन्वय गरेर काम गर्नुपर्ने बताए । ‘सरकारले पहिलेको तुलनामा मानसिक स्वास्थ्यमा केही त गरेको छ तर प्रयाप्त छैन । यसका लागि अब सबै पक्ष मिलेर काम गर्नु जरुरी छ’ उनले भने ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलले नेपालमा ‘इस्यु बेस्ड’ भएर बहस गर्ने प्रवृत्ति रहेको भन्दै उनले यस्तो प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सात प्रदेशको २१ जिल्लामा गईसकेको भन्दै यसबर्ष थप २२ जिल्लामा लागू हुने बताए । उनले स्थानीय तहबाटै मानसिक स्वास्थ्यका विरामीलाई निशुल्क औषधिको समेत व्यवस्था गरिएको जानकारी दिए ।
सो अवसरमा आफ्नो प्रस्तुतिकरण राख्दै कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले मनोसामाजिक समस्या, जैविक, अनुवांशिक, साँस्कृतिक लगाएतका तत्वहरुले आत्महत्यामा भूमिका खेल्ने गरेको बताए । उनले मानसिक स्वास्थ्यको बारेमा विद्यालय तहबाट नै यसको सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । अहिले पनि प्रदेश अस्पतालहरुमा मानसिक स्वास्थ्यको उपचार गर्ने स्वास्थ्यकर्मी नभएको भन्दै उनले यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले मानसिक स्वास्थ्यका लागि मनोसामाजिक परामर्श आवश्यक भएको भन्दै यस्ता जनशक्ति स्थानीय तहसम्म पठाउन आग्रह गरे ।
मानसिक स्वास्थ्य समस्या हुन लागेको भनेर कसरी थाह पाउने ?
नेपालमा अझै पनि आत्महत्याका विषयमा विभिन्न भ्रमहरु रहेका छन् । आत्महत्या गर्ने व्यक्तिले अरुको ध्यानाकर्षण गर्नकै लागि आत्महत्या गर्छन् भन्ने भ्रम छ । सबै जसो आत्महत्या आवेगमा आएर गर्ने धारणा छ । तर अधिकांश आत्महत्या योजनाबद्ध रुपमा गरिएका हुन्छन् । आत्महत्या गर्नुअघि व्यक्तिमा विभिन्न लक्षणहरु देखापर्छन् ।
- छटपटि र एक्लोपन महशुश गर्नु,
- लागुऔषध तथा मादकपदार्थ सेवन गर्नु
- निद्रामा गढबढि हुनु
- भावनात्मक उतारचढाव
- भविश्यप्रति निराश हुनु
- हेलचेक्राईपूर्ण व्यवहार देखाउनु
- साथीभाइ तथा आफन्तबाट टाढिंदै जानु
- सामाजिक सञ्जालमा आत्महत्या वा निराशाजनक अभिव्यक्तिहरु प्रकट गर्नु
विश्वमा आत्महत्याको अवस्था
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा वार्षीक ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन्, जसमध्ये ९० प्रतिशत घटना मानसिक स्वास्थ्य समस्याका कारण हुने गरेको छ ।
विश्वमा औषत २० जनाले आत्महत्या प्रयास गर्दा १ जनाले आत्महत्या गर्ने अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेण्डमा १ जनाको आत्महत्याका कारण ज्यान जाने गरेको छ ।
के छ नेपालको अवस्था ?
नेपाल प्रहरीको आर्थिक वर्ष २०७५/०७६ को तथ्यांक अनुसार नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन् ।
जसमा १८ भन्दा कम उमेरका ९ प्रतिशत, १९ देखि ३५ वर्ष उमेर समुहका ४० प्रतिशत, ३६ देखि ५० वर्ष सम्मका ३० प्रतिशत, ५१ वर्षदेखि ६९ वर्ष उमेर समुहका १६ प्रतिशत तथा ७० वर्ष मााथिका ५ प्रतिशत छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार वैदेशिक रोजगारका क्रममा मृत्युहुने मध्ये १०.४ प्रतिसत मृत्यु आत्महत्याका कारण हुने गरेको छ ।
सम्पर्क इमेल : [email protected]