बिरामीको मृत्युपछि भिडले आक्रमण गर्दा ७३ बर्षीय डाक्टरको ज्यान गयो

नयाँ दिल्ली, १७ भदौ । बिरामीको मृत्यु पछि आक्रोशित भिडले आक्रमण गर्दा एक डाक्टरको ज्यान गएको गएको छ । गत शनिबार भारतको असमको जोरहटस्थित चियाबगानसंगै रहेको टि स्टेट अस्पतालमा कार्यरत ७३ बर्षीय डाक्टर देवेन दत्ताको ज्यान गएको हो ।

चिया बगानमा कार्यरत ३२ बर्षीय सोमरा माझीको उपचारका क्रममा निधन भएपछि आक्रोशित भिडले डाक्टर दत्तामाथि आक्रमण गरेको थियो । आक्रमणमा उत्रिनु अघि उनीहरुले डा दत्ता माथि उपचारमा गरेको आरोप लगाएका थिए ।

शुरुमा डाक्टर विरुद्ध नाराबाजी गरेको थियो तर एकै छिनमा सो भिडले हातपात गर्न थाल्यो । डाक्टरमाथि शिशा प्रहार हुन थाल्यो । टाँउको गम्भीर चोटका उनको मृत्यु भयो राज्य पुलिस अधिकारीले आइतबार भनेका छन् ।

भएको के थियो ?
बिरामीलाई अस्पतालमा ल्याएका बेला डा दत्ता अस्पताल थिएनन् । उनी दिउसोको खानाका लागि अस्पताल भन्दा केही पर थिए । बिरामी आएको जानकारी पछि उनले आफ्ना दुई असिस्टेन्टलाई उपचार शुरु गर्दै गर्न निर्देशन दिएका थिए । उनले उक्त विरामीलाई नाम तोकेर इन्जेक्सन दिन समेत अह्राएका थिए । डा दत्ता खाना खाएर अस्पताल आई उपचार शुरु गर्दा नगर्दै माझीको ज्यान गयो ।

‘एकै छिनमा भिड जम्मा भयो, डाक्टर दत्ताको ढिलाईले ज्यान गएको हो भन्ने हल्ला चलाईएछ र उनीमाथि भौतिक आक्रमण भएछ,’ जोरहट प्रहरी चौकीका इन्चार्ज निम्वाल्कर भैवह चन्द्रकान्तले भने, ‘हामीले उद्धार गरी थप उपचारका लागि जोरहट अस्पतालमा लैजादै थियौँ तर बाटोमै ज्यान गयो । उनको टाउको र खुट्टामा गम्भीर चोट थियो ।’

घटना पछि प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको छ । यता असम प्रहरी प्रमुख कुलाधर सैकियाले थप अनुसन्धान तथा कारवाहीका लागि इन्सपेक्टरको नेतृत्वमा एक टोली जोर्हाट पठाएका छन् ।

यता चिया बगानले निकालेको विज्ञप्तीमा चिकित्सकलाई जोगाउने क्रममा आफ्ना एक अधिकारी पनि सख्त घाइते भएको उल्लेख गरेको छ । उसले घटनामा केही कामदारहरु केही गैर कामदार र केही बाहिरी व्यक्तिहरुको घुसपैठ भएको दावी गरेको छ । घटनापछि सो चिया बगान बन्द गरिएको छ ।

यता भारतीय मेडिकल एसोसिएशनको असम शाखाले डा दत्ताको मृत्युलाई हत्या भनेको छ । उसले सो चिया बगानमा पछिल्लो समय चिकित्सकमाथि यस्ता हिंसा बढदै गएको भन्दै यो घटना तेस्रो घटना भएको बताएको छ । उसले घटनाको विरोधमा मंगलबार (आज)देखि २४ घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

जोरहट जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी सुभान गोवालको संयोजकत्वमा छानवीन टोली गठन गर्दै ७ दिन भित्र प्रतिवेदन बुझाउन भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *