कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

काठमाडौँ, ५ फागुन । सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् ।

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।

कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा महेश साहका अनुसार कतिपय व्यक्तिमा रोग लागेपछि विस्तारै नशा फुल्दै जान्छ । ती व्यक्ति स्वास्थ्य संस्थामा जाँदा पहिले नशारोगको नै उपचार हुने उनले बताए ।

कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा साहले बताए । उहाँका अनुसार रोगको कटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रूपमा रहेको छ । उनले भने, “किटाणु फैलिएर बिरामी अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन् ।”

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौ पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले जनाएको छ । बिरामीमा विस्तारै हातखुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखा पर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुने डा साहले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *