२५ बर्षीया महिलाले जन्माइन एकै पटक सात सन्तान
एजेन्सी । इराकको दियाली शहरकी एक महिलाले एकै पटक सात सन्तानको जन्म दिएकी छन् । २५ बर्षीया ति महिलाले प्राकृतिक रुपमा (शल्यक्रिया नगरी) ती सन्तान जन्माएकी हुन् । उनले एकैपटक जन्माएका सन्तानमा छ छोरी र एक छोरा छन् ।
डेली मेलका अनुसार स्थानीय अस्पतालमा जन्मेका ति सबै शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ । सरकारी अधिकारीका अनुसार कुनै पनि महिलाले एकै बेतमा ७ बच्चा जन्माएको इराकमा यो पहिलो घटना हो ।
यसअघि सन् १९९७ मा अमेरिकामा एकजना महिलाले ७ जना बच्चा जन्माएकी थिइन् । तर उनले बच्चा जन्माउँदा शल्यक्रिया गर्नुपरेको थियो ।
त्यो घटनापछि तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले उक्त दम्पत्तिलाई भेट गरी बधाइ दिएका थिए । साथै उक्त दम्पत्तिलाई घर तथा अन्य आर्थिक सहयोग गर्नुका साथै सबै बच्चालाई पढ्नका लागि छात्रवृत्तिसमेत प्रदान गरेका थिए ।
त्यस्तै सन् २०१३ मा लेबनानमा एकजना महिलाले ६ जना बच्चा जन्माएकी थिइन् । जसमा ३ छोरा र ३ छोरी थिए ।
अहिले ७ जना बच्चा जन्माउने इराकी महिलाको नाम तथा पहिचान नखुलाइएको भए पनि उनका पतिको नाम भने युसुफ फदल रहेको बताइएको छ । यसअघि नै तीन सन्तान जन्माएका फदल दम्पतीले अब आफूमाथि कूल १० जनाको जिम्मेवारी आएको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]