जीपी कोइराला स्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्र सरकार मातहत
काठमाडौँ, १५ माघ । केन्द्र सरकारले थप दुई अस्पताल केन्द्र मातहतमा राख्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले तनहुँमा स्थापित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्र मातहतमा राख्ने निर्णय गरेको हो ।
यसअघि गत २३ पुसमा बसेको मन्त्रिपरिषद बैठकले विकास समिति अन्तरगर्त सञ्चालित नौ वटा स्वास्थ्य संस्थालाई संघ अन्तर्गत राख्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती दुई अस्पताल सहित ११ वटा अस्पताल केन्द्र मातहतमा राख्ने गरी प्रस्ताव लगेको थियो । तर यी दुई अस्पतालमा विवाद रहेको भन्दै निर्णय गरेको थिएन । आफ्ना श्रद्धेय नेताद्धयका नाममा खोलेका अस्पताल खारेजी गर्ने योजनामा सरकार लागेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले सदन अबरुद्ध गर्न थालेपछि सरकारले निर्णय सच्याएको हो ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष दलको माग पुरा भएको बताए । उनले सोमबारको मन्त्रिपरिषद बैठकले दुईवटा अस्पताल केन्द ्रसरकार मातहत ल्याउने निर्णय भएको जानकारी दिए ।
गत २३ पुसको बैठकले कान्ति बाल अस्पताल महाराजगञ्ज, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई केन्द्र मातहतमा राख्ने निर्णय गरेको थियो ।
यस्तै शहीद शुक्रराज ट्रपीकल तथा सरुवा अस्पताल, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, मानसिक अस्पताल ललितपुरलाई पनि केन्द्र मातहत राख्ने निर्णय भएको थियो ।
यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नरदेवी आयुर्वेद अस्पताल र सिंहदरबार वैद्यखाना विकास समिति पनि संघ अन्तर्गत रहने भै सकेको छ ।
सम्पर्क इमेल : [email protected]