प्रधानमन्त्रीका स्वास्थ्य चिकित्सक डा. शाह भन्छिन्, ‘औषधिका बारेमा डा. केसीले भ्रामक सन्देश दिनुभयो’
काठमाडौँ, १३ माघ । क्याविनेट चिकित्सक एवं बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले अनशनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य र औषधिको बारेमा जारी गरेको विज्ञप्ती आधारहीन भएको बताएकी छन् । उनले सो विज्ञप्तीले आम सर्वसाधारण र मिर्गौला प्रत्यारोपण गरेका र गर्ने तयारीमा रहेका तमाम मानिसमा भ्रामक सन्देश गएको बताएकी छन् ।
आइतबार नेपाली हेल्थसंग कुरा गर्दै डा शाहले भनिन्, ‘डा. केसी जस्तो व्यक्तिले कोहि व्यक्तिको स्वास्थ्य जस्तो नितान्त व्यक्तिगत कुरामा बोल्नै हुँदैनथ्यो । यो चिकित्सकीय पेशा र आचरणले पनि दिदैन र त्यसरी आरोपित गर्दै गर्दा अरु विरामीहरुलाई कस्तो असर पर्छ भनेर पनि सोच्नु पर्दथ्यो । सरकारसंगको रिस प्रधानमन्त्रीको स्वास्थ्य र औषधिसंग जोडेर जो सन्देश बाहिर ल्याउनु भयो त्यो अत्यन्त आपत्तिजनक छ ।’
उनले डा. केसीले भनेजस्तो प्रधानमन्त्री ओलीलाई औषधिको कुनै नकारात्मक असर नभएको, एकदमै स्वस्थ रहेको जानकारी दिइन । र यो औषधिले केही असर नगर्ने दावी गरिन ।
‘डा. केसीको विज्ञप्ती पछि मेरा विरामीहरु ( मिर्गौला) अत्यन्तै चिन्तित र दुखी हुनु भएको छ । त्यस्तो बरिष्ट व्यक्तिबाट यस्तो भ्रामक कुरा आउँदा म पनि दुखी छु । कसरी त्यस्तो भन्न सक्नु भयो म अचम्ममा परेकी छु,’ डा. शाहले भनिन् ।
त्यसो त डा. शाहले पहिलो अनशन देखि नै डा केसीको स्वास्थ्य निगरानी गर्दै आएकी छन् । उनी मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य पहिले देखि नै हेर्दै आएकी छन् ।
आइतबार दिउसो डा केसीलाई भेटन अनशनस्थल जाँदै गरेकी शाहले अहिलेसम्म डा. केसीको स्वास्थ्य अवस्था सामान्य नै रहेको प्रतिक्रिया दिइन । ‘मैले नियमित रुपमा उहाँको रिपोर्ट हेर्न पाएको छु । त्यस्तो अप्टेरो छैन ।’
सम्पर्क इमेल : [email protected]
marsi chamal ko swad bhtyai ki kaso