डा. केसीको जीवन रक्षाका लागि ‘अफिस टाइम’मा धर्ना
काठमाडौँ, १३ माघ । डा गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै नेपाल चिकित्सक संघले भोलि देखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ । विहान १० देखि अपरान्ह ५ बजेसम्म अर्थात ‘अफिस टाइम’मा हुने अनशनमा सक्रिय सहभागिता जनाइदिन संघले आफ्ना सदस्य चिकित्सकहरु समक्ष आग्रह गरेको छ ।
डा केसीको अनशनस्थल बाहिर भेला दिउसो साढे १ बजे भेला भएका आवासीय चिकित्सक, चिकित्सक, तथा विद्यार्थीको समूहलाई सम्वोधन गर्ने क्रममा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सो कुरा बताएका हुन् । उनले डा केसी अनशन बसेको १९ दिन हुँदा समेत सरकारका तर्फबाट औपचारिक बार्ताको थालनी नहुनु दुखद पक्ष रहेको बताए । उनले आवश्यक परेको खण्डमा आफूहरु मध्यस्थता गर्न चाहेको समेत उल्लेख गरे । सम्वोधनकै क्रममा उनले सरकारले डा. केसीको सत्याग्रहलाई कमजोर बनाउन चिकित्सक माथि फुट ल्याउन खोजेको समेत आरोप लगाए ।
आज मात्रै राष्ट्रिय चिकित्सक संघले चिकित्सक संघले अस्पताल बन्दको घोषणा गरेमा आफूहरु अवज्ञा गर्ने चेतावनी दिएको थियो ।
अध्यक्ष डा श्रेष्ठले केही चिकित्सकहरु क्षणिक लोभमा परेर आफ्नो आन्दोलनलाई कमजोर बनाउन खोजेको भन्दै त्यसको हिसाव राखिएको समेत ठोकुवा गरे ।
संघले आफ्नो रिले अनशनको कार्यक्रम आफ्ना देशभरीका जिल्ला शाखामा पनि जारी रहने बताएको छ ।
त्यसअघि बोल्दै नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष डा सुमित पाण्डेले जनता मुखी चिकित्सा ऐन आउनुपर्ने माग राख्दै अनशन बसेका डा केसीको माग पुरा गर्न दवाव दिनु पर्ने बताए ।
उनले आफ्नो माउ संस्था चिकित्सक संघले आन्दोलनमा कछुवा गतिमा हिडेको समेत आरोप लगाए । सरकारका कतिपय अधिकारीहरुले डा केसीका ९५ प्रतिशत माग पुरा भएको बताउने गरेको प्रशंग निकाल्दै उनले बाँकी ५ प्रतिशत के कारणले पुरा हुन नसकेको प्रश्न गरे । उनले सरकारी अधिकारी आएर ५ प्रतिशत पुरा नभएको विषयमा डा केसीसंग छलफल गरे निकास निस्कन बेर नलाग्ने उपाय समेत बताए ।
कार्यक्रममा आवासीय चिकित्सक बीर अस्पतालका डा सरदचन्द्र बरालले समेत बोलेका थिए ।
चिकित्सक संघले उपत्यका भरीका चिकित्सकलाई भेलाका लागि बोलाए पनि सहभागीको संख्या अत्यन्तै न्युन थियो । केही रेजिडेन्ट र केही चिकित्सक र केही एनएमएका प्रतिनिधी बाहेक थिए तर संख्या एकदमै कम थियो ।
सम्पर्क इमेल : [email protected]