सातौँ ‘फर्मा तथा हेल्थ एक्स्पो’ चितवनमा हुँदै
काठमाडौँ, ८ माघ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर फर्मा एक्स्पो गर्ने भएको छ । एपोनले आगामी १७ देखि १९ फागुनसम्म चितवनमा सातौँ ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ गर्न लागेको हो ।
यसपटक एपोनले एक्स्पोलाई मरणोपरान्त अंगदान गर्ने कार्यको प्रवर्धन गर्ने अभियानको रुपमा पनि अघि बढाउन लागेको जानकारी दिएको छ ।
‘यसपटकको एक्स्पोलाई हामीले उत्पादन गर्दै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याव र मेसिनहरुको प्रदर्शन त हुँदैछ, त्यसबाहेक सामाजिक उत्तरदायित्व अन्तरगर्त पहिलो पटक मरणोपरान्त अंगदानको अभियानलाई पनि संस्थागत गर्ने निर्णय गरेका छौँ,’ एक्स्पोबारे जानकारी दिन आयोजित कार्यक्रममा एपोनका अध्यक्ष दीपकप्रसाद दाहालले बताए ।
‘अहिले सम्म छ वटा एक्स्पो काठमाडौंमा भएको थियो । यसपटक भने मेडिकल हबका रुपमा लिइएको चितवनमा सातौं एक्स्पो गर्न लागका हौं,’ उनले भने।
अंगदान अभियानमा आफूहरुले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसंग समन्वय र सहकार्य गरेको उनले जानकारी दिए ।
दुई सय स्टल रहने एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय बीस भारतीय कम्पनी,१० चिनिया कम्पनीको सहभागिता रहनेछ । यसैगरी नीजि क्षेत्रका १० वटा अस्पतालले पनि एक्स्पोमा भाग लिने एपोनले जनाएको छ ।
चितवनमा हुने उक्त एक्स्पो ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पोमा औषधिसँग सम्बन्धित विभिन्न विषयमा टेक्निकल सेमिनार समेत हुनेछ ।
सम्पर्क इमेल : [email protected]