रेडियोलोजिष्टहरुको तेस्रो राष्ट्रिय सम्मेलन राजधानीमा शुरु
काठमाडौँ, १० कात्तिक । रेडियोलोजिष्टहरुको तेस्रो राष्ट्रिय सम्मेलन ‘रेडकन – २०१८’ शुक्रबारबाट राजधानीमा शुरु भएको छ । दुई दिने उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी २७० बढी रेडियोलोजिष्टहरुको सहभागिता छ ।
सम्मेलनमा ३५ वटा ‘सेन्टेफिक पेपर’को प्रस्तुति हुँदैछ । ती पेपरहरु रेडियोलोजिको वर्तमान अवस्था र भविस्यमा गर्न सकिने कार्यका बारेमा केन्द्रीत रहेको छ ।
यसैबीच सम्मेलनको उद्घाटन गर्न पुगेका मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले रोगहरुको चुनौती बढ्दै गएको अवस्थामा रेडियोलोजिष्टहरुको महत्व अझ बढदै गएको बताए । नयाँ नयाँ प्रविधि र उपकरणको प्रयोगबाट सहि उपचार हुने भन्दै त्यसका लागि युवा रेडियोलोजिष्टहरुको भूमिका प्रमुख रहने बताए ।
नेपाल रेडियोलोजिष्ट एसोसिएशनका अध्यक्ष डा. स्वयंप्रकाश पण्डितले रेडियोलोजि विधामा आएका नयाँ नयाँ विकासका छलफल, ज्ञान तथा अनुभवको आदानप्रदान गर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको बताए । उनले विकसित देशहरुमा रेडियोलोजी विधामार्फत उपचार कार्य हुन थालेपनि नेपालमा रेडियोलोजी सेवा भने अहिले अहिले पनि रोग पत्ता लगाउने अवस्थामै केन्द्रीत रहेको बताए । उनले सम्मेलनबाट रेडियोलोजिको सेवा विस्तार गर्न सहयोग पुग्ने बताए ।
बरिष्ठ रेडियोलोजिष्टहरुलाई सम्मान
यसैबीच एसोसिएसनले सम्मेलनकै अवसर पारी ४ जना बरिष्ठ रेडियोलोजिष्ट डाक्टरलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा डा. मधुसुदनलाल मास्के, डा. नेत्रबहादुर अमात्य, डा. विष्णुलाल जोशी, डा. आनन्दप्रसाद श्रेष्ठ रहेका छन् ।
यस्तै नयाँ नयाँ उपकरण नेपाल भित्र्याईदिएर सेवा उपलव्ध गराउन सहयोग गरेको भन्दै केही सम्पायर्सलाई समेत सम्मान गरिएको छ । सम्मेलन आज सकिदैछ ।
सम्पर्क इमेल : [email protected]