स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौट गरिने
काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भन्दै दरखास्त आवहान गरेको छ । चार बर्षे कार्यकालका लागि नियुक्ति गरिने निर्देशक पदमा पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको हो ।
आज प्रकाशित गरेको सूचना अनुसार ऐनको दफा २१ बमोजिम योग्यता पुगेका इच्छुक नागरिकले सात दिन भित्र दरखास्त हाल्न भनिएको छ ।
ऐनको दफा २१ ले तोकेको योग्यता भने यस्तो छ :
क. नम्बर बुँदामा मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव प्राप्त गरेको भन्ने उल्लेख छ ।
ख. नम्बर बुँदामा दफा १८ को खण्ड क, ग र घ बमोजिमको योग्यता पुगेको भनिएको छ । सो अनुसार क. मा नेपाली नागरिक हुनुपर्ने , ग. मा भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी सम्पत्ती शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्वन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको व्यक्ति भनिएको छ । त्यस्तै घ. मा चार बर्ष देखि निरन्तर स्वास्थ्य बीमा गरेको उल्लेख छ । कार्यकारी निर्देशकका लागि ६५ बर्ष ननाघेको व्यक्ति हुुनुपर्नेछ ।
सूचनामा इच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रतिलिपि, अनुभव, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उक्त पदमा नियुक्त भएमा आफूले सम्पादन गर्ने प्रस्तावित कार्ययोजना एवं प्रतिवद्धता समेत सम्लग्न राखि गोप्य खामवन्दी गरी मन्त्रालयमा दरखास्त दिन भनिएको छ ।
बीमा ऐन आउनु अघि गठन आदेशबाट सञ्चालन भएको यो कार्यक्रममा केदारबहादुर अधिकारी, डा. गुणराज लोहनीले कार्यकारी भूमिका निभएका थिए । बीमा ऐन आइसकेपछि निमित्तको रुपमा डा. लोहनीले नै सम्हालेका थिए । तर उनी विभागको निमित्त महानिर्देशक भएपछि यतिवेला बोर्डको निमित्त कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्याय छन् ।
सम्पर्क इमेल : [email protected]