शिशुलाई आमाबाट चोरेर अरुलाई दिएको अभियोग लागेका डाक्टरको सुनुवाई शुरु

बीबीसी । स्पेनमा एकजना भूतपूर्व डाक्टर विरुद्ध आधा शताब्दी अघि एकजना शिशुलाई उनको आमाबाट चोरेर अरुलाई नै पाल्न दिएको अभियोगमा सुनुवाइ सुरु गरिएको छ।

ती ८५ वर्षिय डाक्टर एडुआर्डो भेलाले भने आफूले त्यस्तो काम नगरेको बताएका छन्।

फ्र्यांको युग भनिने चरमदक्षिणपन्थी शासन रहेको त्यसबेलाको समयमा राजनीतिक र अन्य धार्मिक कारण देखाइ झण्डै तीनलाख नवजात शिशुहरुलाई तिनका आमाबुबाबाट खोसेर अरुलाई नै पाल्न दिइएको थियो।

केही दशकको अवधिमा हजारौं नवजात शिशुहरुलाई तिनका आमाबाबुबाट चोरेर अरुलाई नै दिइएको एउटा काण्डका सम्बन्धमा मुद्दा खेप्ने स्पेनका ती ८५ वर्षिय स्त्रीरोग विशेषज्ञ पहिलो व्यक्ति बनेका छन्।

डाक्टर एडुआर्डो भेला विरुद्ध सन् १९६९ मा इनेस माड्रीगललाई उनकी आमाबाट चोरेर अर्कै महिलालाई पाल्न दिएको आरोपमा मुद्दा दायर गरिएको हो।

खण्डन
उनले आफूले ती महिलाको जन्मदर्ता प्रमाणपत्रमा आफूले हस्ताक्षर नगरेको र त्यसबारेमा आफूलाई कुनै कुरा सम्झना नरहेको बताएका छन्।

मुद्दाको सुनुवाइ सुरु हुंदा मड्रीडस्थित अदालत बाहिर उभिएर दर्जनौं मानिसहरुले न्यायका लागि नाराबाजी गरेका थिए।

हाल ४९ वर्षकी इनेस माड्रीगल ून्यायू भनेर लेखिएको पहेंलो टिसर्टलगाएका आफ्ना समर्थकहरुका साथ अदालतमा आएकी थिइन्।

उनले यो आफ्नो मात्र मुद्दा नभएको भन्दै यसले अब ठूलो स्वरुप लिएको बताइन्। स्पेनमा बच्चाहरु चोरिने घटना भएको भनेर अब सारा दुनियांले थाहा पाएको उनको भनाइ थियो।

आशा
मुद्दाको सुनुवाइ सुरु हुंदा मड्रीडस्थित अदालत बाहिर उभिएर दर्जनौं मानिसहरुले न्यायका लागि नाराबाजी गरेका थिए
तर उनले यो मुद्दाको सुनुवाइबाट आफ्नी वास्तविक आमा को हुन् भनेर थाहा पाउन सक्ने आफूले आशा नराखेको बताइन्।

अभियोग सावित भएमा डाक्टर एडुआर्डो भेलाले ११ वर्ष जेल सजायं भोग्नु पर्ने हुनसक्छ। उनले आफू विरुद्धका आरोपहरुको खण्डन गरेका छन्।

सन् १९३९ देखि १९७५ मा स्पेनमा शासन गरेका जेनरल फ्र्यान्सीस्को फ्र्यांकोको अधिनायकवादी समयमा नवजात शिशुहरुको अपहरण हुने गरेको गोप्य घटनालाई सार्वजनिक गर्न अभियानकर्ताहरुले लामो समयदेखि संघर्ष गरिरहेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *