यसरी भएको रहेछ चिनिया चिकित्सा पद्धतीको विकास
- डा. राजेन्द्रकुमार गिरी
मित्रराष्ट्र चीनको सियानस्थित शान्सी चिनिया चिकित्सा विश्वविद्यालयको आयोजनामा बेल्टरोड राष्ट्रका स्वास्थ्यकर्मी, चिकित्सकहरुका लागि आफ्नो देशको परम्परागत चिकित्सा पद्धतीको सम्भता र सास्कृतिक पक्ष, विकास र विस्तार सम्वन्धी अन्तराष्ट्रिय गोष्ठीमा सहभागी हुने अवसरमा म केही दिनको लागि चीनमा छु ।
यसै सन्दर्भमा मैले केही ठाँउको चिनिया चिकित्सा र यसको सभ्यता, सस्कृतिको अवलोकन र अनुभवका आधारमा विषयमा केन्द्रीत भएर लेख्ने कोशिस गर्ने प्रयास गरेको छु ।
खानपान
चिनियाहरु विहानी नास्तालाई प्रमुख प्राथमिकता राख्दा रहेछन् । विहानको नास्ताले लामो समयसम्म काम गर्न सक्ने र स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण मान्ने रहेछन् ।
विहान साढे ११ बजे देखि मध्यान्न साढे १२ बजेसम्म र साँझको ८ बजेभित्र खाना खाईसक्दा रहेछन् । विहानको नास्ता बढी, दिउसो विहानको भन्दा कम, र साँझमा निकै कम खाँदा रहेछन् चिनियाँहरु । साँझको खाना पेटभरी खानु हुँदैन भन्ने मान्यता रहेछ उनीहरुको ।
राती काम नगर्ने भएकोले पेटभरी खाँदा क्यालोरी बढी हुन्छ र मोटोपना, कोलेस्टेरोल बढी हुन्छ भन्ने मान्यता रहेछ । त्यसैले रहेछ ठूलो भुडी भएका चिनियाँहरु भेट्न मुस्किल पर्छ ।
साँझको खाना हल्का र झोलिलो खाँदा रहेछन् । धेरै प्रोटिनयुक्त माछा मासुका परिकार लगायत गोडभेडा, मुला, सखरखण्ड, अदुवा, लोटसकमलको फुलको जरा, लसुन, खुर्सानी, स्याउ, भट्मास(तोफु) भात र मकै, च्याुको सुप, भात र मकैको सुप, करेलाको सलाद खानाको रुपमा प्रयोग गर्दा रहेछन् ।
आफ्नो सभ्यता अनुसार चम्चा र काँटाको सट्टा काठ वा बाँसको छडी (चपिस्टिक)द्धारा खाने रहेछन् । चिनियाँहरु भात कम खाने र खाएपनि थोरै र अन्तिममा खानेरहेछन् ।
चिया :
चिनियाँहरुले पाहुनाहरुलाई पानीको सट्टा मनतातो पानी वा चियाले स्वागत गर्दा रहेछन् । त्यसो त संसारमै चिया संस्कृतिको शुरुवात गर्ने पहिलो देश नै चीन रहेछ ।
सर्वसाधारण देखि प्राध्यापक ,चिकित्सक, नर्सहरुको हातमा चियाको बोटल देख्न पाइन्छ । प्रत्येक चिनियाले चिनीविनाको चिया पिउने प्रचलन रहेछ । दुधको चिया बिरलै देख्न पाइन्छ ।
ग्रीन चिया, पारिजातको फुल, गोदावरी फुल, कटुसको फुल, तोरीको पराग र विभिन्न बनस्पतिहरुको परागहरु प्रयोग गर्ने प्रचलन रहेछ । यो बानी राम्रो लाग्यो । नेपालमा सधै कालो चिया पिइरहेका हुन्छौँ तर केही जडिबुटीका फुलहरु राखेर झोल प्रयोग गर्दैनौँ ।
शारीरिक हलचल :
चिनियाँहरुमा काम भएन भने पनि शारीरिक रुपमा हलचल गर्ने एवं व्यायम गरेर बस्ने बानी रहेछ । सार्वजनिक स्थल, पार्क, अस्पताल परिसरमा शारीरिक हलचलका लागि निशुल्क रुपमा सामग्रीहरु राखिएका हुँदा रहेछन् ।
बच्चा देखि बृद्धहरु रमाईरमाई शारीरिक कसरत गरिरहेका हुन्छन् । कम्मर गर्धन, हात काँध लगायत सबैको व्यायम हुने खालका सामग्रीहरु छन् । सामग्रीहरु भएन भने पनि विहान बेलुका चिनियाँ मार्सल आर्ट र ताइचि छ्यान( मार्सल आर्टको परिमार्जित रुप)को अभ्यास गर्दा रहेछन् ।
यो विधिले शरीर सिथिलिकरण र मनलाई एकाग्र र आनन्द बनाउन मद्धत गर्ने उनीहरुको अनुभव रहेछ । यसमा विशेष धुनको तालमा २४ वटा स्टेपको अभ्यास गरिदो रहेछ । यसलाई चिनियाँ सभ्यता र संस्कृतिको रुपमा हेरिदो रहेछ । मांसपेशी, जोर्नी र सम्पूर्ण शरीरलाई मजबुत बनाउन र शरीरलाई लचक बनाउन उपयोगी हुँदो रहेछ ।
अवकाश प्राप्त बृद्धहरु र उमेरले नेटो काटिसकेकाहरु पनि नियमित व्यायम गर्दा रहेछन् । यी विधिहरु चिनियाँ संस्कृति र परम्परासंग सम्वन्धीत रहेछ । चीनले चिकित्सा विधिलाई सांस्कृतिक गहनाको रुपमा पनि मानेको छ । विश्वभरी प्रचार गर्नका लागि विदेशीहरुलाई सिकाउँछन् । विश्वविद्यालय र अस्पतालका चिकित्सकहरुले अभ्यास गरेको पनि देखियो ।
परापूर्वकालमा शारीरिक प्रतिरक्षा र शत्रुको प्रत्याक्रमणका लागि भएपनि यसलाई स्वास्थ्य प्रर्वधन गर्नमा व्यवहारमा ल्याइयो । भारत तथा नेपालमा गरिने योग र ध्यानसग जस्तै चिनियाँहरुले शारीरिक र मानसिक सन्तुलनका लागि बगैँचा पार्क, मन्दिर अस्पताल परिसर सार्वजनिक ठाँउहरुमा बृद्धबृद्धाहरुमा शारीरिक हलचल लगायत नाचगान र मनोरञ्जन गर्दा रहेछन् ।
परम्परागत चिनियाँ चिकित्सा विधि :
यस पद्धतीमा होल्मि अवधारणा ( बिरामीको प्रकृति) अनुसार बिरामीको उपचार गरिन्छ । पश्चिमा चिकित्सा पद्धतीले लक्षणलाई केन्द्रीत उपचार गर्छ । चिनियाँ चिकित्सकको भनाई अनुसार व्यक्ति र प्रकृतिलाई अलग गरेर हेर्न मिल्दैन । मानव शरीर नै सम्पूर्णता अवधारणा अनुसार चलेको छ ।
शरीरका प्रत्येक भाग एक आपसमा समन्वय, अन्तरक्रिया र निर्भर भएर रहेका हुन्छन् । यो रहनका लागि पनि आन्तरिक र बाह्य रुपमा मानव शरीर बीचको अन्तरक्रिया नै होलिज्म अवधारणा हो ।
उपचार गर्दा बिरामीको शारीरिक, मानसिक र आध्यात्मिक पक्षलाई निकै ध्यान दिनुपर्ने , बिरामी स्वयं आफ्नो स्वास्थ्य हेरचाह गर्नुपर्ने, दैनिक स्वस्थ खाना, बानी व्यहार र शारीरिक अभ्यासमा ख्याल गर्ने र औषधि लेख्नु भन्दा अगाडी बिरामीको आर्थिक अवस्थाको पनि ख्याल गर्नु विर्सनु हुँदैन भन्ने मान्यता राख्दा रहेछन् चिकित्सकहरुले ।
यस्तै एक्युपंचर एनेस्थेसिया ( औषधिरहित सियोद्धारा पिडानास गर्ने) सन् १९५७ मा यस विधिद्धारा संज्ञाहरण गरेर अप्रेशन सफल भएपछि १९५८ मा माओबाट स्वयं नीतिगत रुपमा अझ व्यवस्थित र अनुसन्धान गर्न कामहरु भएको मानिन्छ । यसको सफलता पछाडी एक चिकित्सक र एक सियो र एक जडिबुटिको अभियान गाँउ गाँउमा लागू भयो ।पिडानास गर्ने तरिकाका बारेमा पनि अनुसन्धान भए ।
चीनका विभिन्न भागमा औलोज्वरमा प्रयोग गर्दै आइरहेको एक प्रकारको तितेपाती ( छिङ्गहाओसु) जडिबुटीलाई अनुसन्धान गरी इन्जेक्सनको रुपमा पनि प्रयोग गरिएको छ । विश्व स्वास्थ्य संगठनले उक्त औषधि लगायत एक्युपन्चरका विभिन्न रोगको उपचार विधिहरुलाई पनि मान्यता दिएको छ । यस विषयमा टुयुयुले नोवेल पुरस्कार समेत पाइसकेकी रहेछिन् ।
सन् १९७२ मा अमेरिकन राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमण पछि विश्वमा खासगरी अमेरिका लगायतका विकसित राष्ट्रहरुमा यसले प्रवेश पाएको रहेछ । उनी आफै अमेरिकामा चिकित्सा पद्धतीको समेत प्रचारक भएको बताइन्छ । इन्डोनेसियाका पूर्वराष्ट्रपति सुहातो उनी स्वयं एक्युपन्चर चिकित्सा लिन्थे । हाल युरोप लगायत विश्वका विकसित एवं विकासोन्मुख राष्ट्रहरुमा चिनियाँ परम्परागत चिकित्सा पद्धतीको रुपमा औषधि वा एक्युपन्चर एवं मोक्सीविसन, मसाज विधि फैलिसकेको छ ।
यस चिकित्सा पद्धतीको इतिहास ५ हजार बर्ष पुरानो मानिएको भएपनि लिखित ग्रन्थहरुको आधारमा २ हजार बर्षको इतिहास भेटन सकिन्छ । परम्परागत चिकित्साका प्रर्वतक वाङ्गती नेचिन हो ।
चीनको इतिहासमा विभिन्न शासन कालमा टिसिएमको विकास भएको रहेछ । सन् १९३६ सालमा टिसिएम सम्वन्धी पहिलो कानून बनेको रहेछ । त्यतिवेला कानुन बनेपनि संस्थागत रुपमा विकास हुन सकेको थिएन । तर माओले सन् १९४९ मा नै टिसिएम र एलोपेथिक चिकित्सा पद्धतीको एकैसाथ लैजाने र आधुनिक चिकित्सका सवल पक्षहरुलाई परम्परागत चिकित्सापद्धतीमा समावेश गर्ने निर्देशन अनुसार १९५६मा देशका विभिन्न प्रान्तहरुमा टिसिएम अस्पताल एवं शैक्षिक संस्थाहरु स्थापना भए ।
टिसिएम सम्वन्धी शिक्षा दिने विश्वविद्यालय सञ्चालन भए । त्यतिवेला सञ्चालन भएका क्यान्टन, सियान, संघाई, नार्नाचंग, छन्तुका विश्वविद्यालयहरु अहिलेपनि चीनमा प्रसिद्ध छन् ।
विगत ६५ बर्षदेखि सरकारको सवल नीति तथा कार्यक्रमको प्रतिवद्धताले चिकित्सा पद्धतीको विकास हुन सकेको छ । नयाँ चीनको प्रार्दुभाव पछि व्यक्तिगत रुपमा प्रयोग हुने चिकित्सा विधि सामुहिक व्यवस्थापनमा चल्यो । अर्को चीनको संविधानमा पनि पश्चिमा मेडिसिन र टिसिएम एकैसाथ विकास गर्ने प्रतिवद्धता उल्लेख गरियो ।
परम्परागत चिकित्सा अस्पतालमा पहिला टिसिएम मेडिसिन प्रयोग गर्ने त्यसपछि एलोपेथिक मेडिसिन प्रयोग गर्ने प्रचलन रहेछ । हाल अस्पतालमा एलोपेथिक, एक्युपन्चर र चिनिया जडिबुटीद्धारा निर्मित औषधिहरुको समन्वय गरेर उपचार गर्छन ।
एलोपेथिक चिकित्सक र परम्परागत चिकित्सकबीच राम्रो समन्वय छ । उनी भन्छिनु, इमरेन्जेन्सी अवस्थामा एलोपेथिक र सामान्इ समस्यामा जडिबुटीद्धारा निर्मित औषधिहरुको र जीर्णरोगहरुमा एवं एलोपेथिक चिकित्साको पाश्र्वप्रभाव घटाउन एक्युपंचर विधि प्रयोग गरिन्छ । जस्तै नसा सम्वन्धीको समस्या केमोथेरापी लिइरहेका विरामीहरु र जीर्ण रोगहरुमा हामी बढी प्रयोग गरेको देखियो । स्वास्थ्य प्रर्वधन र हेरचाहको लागी टिसिएम उपचार बढी प्रयोग गर्दा रहेछन् ।
नेपालको सन्दर्भमा
नेपालमा चिनिया चिकित्सा पद्धती जस्तै आयुर्वेद चिकित्सा पद्धती विश्वकै सबैभन्दा पुरानो मानिन्छ । नेपालमा यस पद्धतीले प्राचिनकाल देखि हालसम्म नेपालीहरुको स्वास्थ्य रक्षा र रोगको उपचार गर्दै आइरहेको छ । जनआस्था र जनविश्वास पनि त्यत्तिकै छ । यो पद्धती केवल चिकित्सासंग मात्र सम्वन्धित छैन । नेपाली सभ्यता र संस्कृतिसंग सम्वन्धीत छ । नेपालमा आयुर्वेद तथा अन्य चिकित्सा विकासको लागि संघीय, प्रादेशिक र स्थानीय सरकारले प्रमुख प्राथमिकता राख्न जरुरी छ । र चिनियाँ चिकित्सा पद्धति हाम्रा संस्थाहरुको विकास लागि अनुकरणीय हुनसक्छ ।
केही सान्दर्भिक तस्विर :
सम्पर्क इमेल : [email protected]