के नेपालमा औलोको प्रकोप घट्दै गएको हो ?
आज २५ अप्रिल, विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले हरेक बर्ष आजैको दिनलाई विश्व औलो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । आज यो दिवस मनाउँदै गर्दा यो रोगको बारेमा चर्चा पनि शुरु भएको छ। केहि दशक अगाडी सम्म औलोको नाम समेत लिने बित्तिकै मानिसहरु डराउने गर्दथे ।
केही बर्ष अघिसम्म टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पनि औलोको उपचार गर्न विरामीको भिड जस्तै लाग्ने गर्दथ्यो तर अहिले सो संख्या निकै कम भएको छ ।
के त्यसो भए नेपालमा औलोको संख्यामा कमी आहेकै हो त ?
नेपाल सरकारको वार्षिक स्वास्थ्य प्रतिवेदनलाई आधार मान्ने हो भने पनि औलोको संख्यामा द्रुत कमी आहेको देखिन्छ। विसं २०६९/०७० को बार्षिक स्वास्थ्य प्रतिवेदनले नेपालमा औलोको विरामी करीब दुई हजार भएको अनुमान गरेको थियो । विसं २०७२/०७३ को प्रतिवेदनले सो संख्या घटेर ९९० को हाराहारीमा रहेको बतायो । यी दुई आर्थिक बर्षको तथ्यांक केलाउँदा साँच्ची नै औलोको केश घटेकै देखिन्छ ।
औलोको प्रजाति पाँच प्रकारका ?
मुलत: औलो पलाज्मोडियम भाईबेक्स, पलाज्मोडियम फाल्सीफारम, पलाज्मोडियम ओभाले, पलाज्मोडियम मलेरे र पलाज्मोडियम नोलेसी गरी पाँच प्रजातिका लामखुट्टेको टोकाइबाट हुने गर्दछ । नेपालमा भने पलाज्मोडियम भाईबेक्स र पलाज्मोडियम फालसीफारम बढी मात्रामा हेर्ने गरिन्छ । किनभने यी दुवै प्रजाति नेपालमा बढी मात्रामा देखिरहने औलोको प्रजतिहरुमा पर्दछ।
यी दुई मध्ये पलाज्मोडियम फालसीफारम अलि कडा मानिन्छ। अघिल्लो आर्थिक बर्षको स्वास्थ्य प्रतिवेदनले केही बढेको हो की भन्ने समेत देखाएको छ ।
पलाज्मोडियम नोलेसी सबैभन्दा पछि थाहा भएको औलोको प्रजातिमा पर्दछ । यो बिशेष गरेर दक्षिण पूर्वी एशियाली देशहरुमा सिमित जस्तो देखिन्छ। नेपालमा हालसम्म यसको जाँच गरेको पाहिदैन। तर नेपालका युवाहरु रोजगारीको अवसर खोज्दै मलेशिया जान थालेपछि भने यो प्रजातिको औलोको जोखिम पनि बढ्दै गैरहेको छ। तसर्थ नेपाल सरकारले ढिलाई नगरी पलाज्मोडियम नोलेसी औलोको जाँच गर्ने सुबिधा उपलब्द गराउन जरुरी छ।
सुक्ष्मदर्शक यन्त्रबाट यो प्रजातिको औलो छुटाउन कठिन हुने भएकोले किटको प्रयोग गर्न सकिन्छ तर पीसीआर प्रविधि अझ बढी सटिक पहिचान गर्ने भयकोले यसको सहज पहुचले बेलैमा औलोको यो प्रजाति पहिचान गर्न मद्धत मिल्नेछ। तर यो प्रविधि आफैमा महँगो हुने भएकोले सहजै उपलव्ध भने हुन् गाह्रो छ।
विसं २०७२/७३ को वार्षिक स्वास्थ्य प्रतिवेदनले औलो जोखिमका जिल्लाहरु ३१ बाट घटेर २५ मा सिमित भएको देखाउँदछ। तर औलोको संक्रमण तराईका जिल्लाहरुबाट पहाडतिर देखिन थालेको छ । जुन आफैमा चिन्ताको विषय हो। यसमा विश्व बाताबरणीय परिवर्तन अर्थात जलवायु परिवर्तन लगायत अरु विभिन्न कारणहरु हुनसक्दछ।
नेपालमा साच्चैनै औलो उल्मूलनतिर गएको तथ्यांकले देखाएता पनि ढुक्क हुने अवस्था भने छैन्। नयाँ नयाँ चुनौतीहरु थपिदै गएको हुँनाले सो चुनौतीहरुलाई पनि आत्मसात गर्ने र त्यसै अनुरुप तिनीहरुको सम्बोधन गर्दै पनि जानु अति आवश्यक भएको छ।
हाल औलो विरुद्धको औषधिको प्रभावकारिता कति छ ? नेपालमा औलो आफैमा कति परिवर्तन हुँदैछ ? किन औलो तराईबाट पहाड तिर सर्दैछ? जलवायु परिवर्तनले औलो स्थानतरणमा कतिको प्रभाव परेको छ? नेपालमा भारत बाहेको नेपालीको रोजगारको गन्तब्य भएका दक्षिण पूर्वी एशियाली देशहरु (खासगरी मलेसिया र अफ्रिकी महादेशबाट औलो कति आयातित हुँदै छ र के यी औलो नेपालमा उपचारमा प्रयोग हुने औषधी उत्तिकै प्रभावकारी छ ? आदि इत्यादि प्रश्नहरुको उत्तर आजै बाट खोज्न जरुरी छ। यी प्रश्हरुको उत्तर खोज्न अनुसन्धानहरु गर्न जरुरी हुन्छ।
माथि उल्लेखित प्रश्नहरुको उत्तरहरु पत्ता लगाउने र सोको कार्यान्वयन गर्ने सके मात्र हाल देखिएको सकारात्मक दर यथावत रहने छ र एकदिन नेपालले औलो उल्मूलनको सपना साकार पार्ने छ।
#डा. पुन टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।
सम्पर्क इमेल : [email protected]