‘औषधि आयातमै निषेध ? स्वीकार्य हुँदैन’ : औषधि व्यवसायी संघ

काठमाडौँ, २९ चैत । स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नाममा विदेशबाट ल्याइने गरेका उच्च गुणस्तरीय औषधिलाई निषेध गर्न खोजिएको भन्दै नेपाल औषधि व्यवसायी संघले आपत्ति जनाएको छ । उसले निषेध भन्दा औषधिको बजार मूल्य कायम गर्न तथा औषधिको गुणस्तर मापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विदेशबाट आयात हुँदै आएका कतिपय औषधिलाई निषेध गरी केही स्वदेशी उद्योगहरुले नेपालमा आफ्नो एकाधिकार स्थापित गर्ने योजना बनाएको र त्यसैमा सरकार फसेको उनीहरुको आरोप छ ।

औषधिलाई सस्तो तथा गुणस्तरीय बनाउने भन्दै तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले गतवर्ष स्वदेशमा प्रसस्त उत्पादन भएका केही औषधि विदेशबाट आयात नगर्ने योजना अघि सारेका थिए । त्यतिवेला सरकारले ३० प्रकारका औषधिहरु आयात गर्न नपाउँने गरी योजना अघि सारेको चाल पाएपछि व्यवसायीहरुले चर्को आन्दोलन गरेका थिए । सोही कारण यसको कार्यान्वनय हुन सकेको थिए ।

औषधि व्यवसायी एवं नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य भन्छन,’ हामी औषधिमा एकाधिकार होइन प्रतिस्पर्धा होस भन्ने चाहन्छौँ । गुणस्तरहीन होइन गुणस्तरीय औषधि खान पाउँन भन्न चाहन्छौँ । र सरकारले मूल्य तोकोस भन्न चाहन्छौँ ।’

उनले स्वदेशका औषधि भन्दा विदेशका औषधिहरु सस्तो र गुणस्तरीय हुने भएपछि स्वदेशी उद्योगहरुले निषेधको कदममा सरकारलाई उक्साएको आरोप लगाए । उनले विदेशबाट ल्याइएका औषधि स्वदेशमै उत्पादित भन्दा कैयौँ गुणा सस्तो र गुणस्तरीय हुने गरेको दावी गरे ।

‘जनताले सस्तोदरमा गुणस्तरीय औषधि खान पाउनु पर्छ भन्ने नै हाम्रो धारणा हो । तर यसका लागि विदेशी औषधिलाई प्रतिवन्ध लगाएर हुँदैन । प्रतिस्पर्धामा उत्रिनु सक्नुपर्छ,’ उनले भने ।

यसैबीच विदेशबाट ल्याइने औषधिको विषयमा सरकारले गम्भीर निर्णय गर्न लागेको भन्दै नेपाल औषधि व्यवसायी संघको टोली मंगलबार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अगुवाईमा गएको टोलीले मन्त्री अर्याललाई भेटि स्वदेशी उद्योगलाई एकाधिकार दिइने गरी निर्णय नगर्न ध्यानाकर्षण गराएको छ ।

जवाफमा मन्त्री अर्यालले सम्वन्धित क्षेत्रका व्यक्तिसंग आवश्यक परामर्स लिएर निर्णय गर्ने बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *