वायु प्रदूषणको उच्च जोखिममा काठमाडौँवासी
भीष्मराज ओझा
काठमाडौँ, २३ चैत । प्रदूषित वायुका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट यस क्षेत्रमा प्रभावकारी कदम चालेको देखिँदैन ।
सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइप बिछ्याउने कार्यबाट उत्पन्न धुलो र सवारी साधनबाट निस्कने धुवाँले यहाँको वायु निकै प्रदूषित बन्दै गएको छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारका पालामा शुरु भएको बाटो विस्तार कार्य अझै पूरा भएको छैन । मेलम्ची खानेपानीअन्तर्गत उपत्यकाका सबै सडकमा नयाँ पाइप बिछ्याउने कार्य जारी छ ।
उपत्यकामा बढ्दो सवारी साधन, इँटाभट्टा, उद्योग र फोहर बाल्दा निस्कने धुवाँले वायु प्रदूषित बन्दै गएको छ । उपत्यकामा करीब ५० लाख मानिसको बसोबास रहेको अनुमान छ ।
प्रदूषणले मानिसको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर परिरहेको वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत बताउछन् । “धुलो र धुवाँले रुघाखोकी, फेक्सोको निमोनिया, श्वासप्रश्वासको समस्या हुन्छ भने दीर्घकालीन रुपमा दम, फोक्सोको क्यान्सर, मुटुलगायतका रोग देखा पर्छ।” उनी भनछन् । वायु प्रदूषणले अबको १० वर्षपछि दम र मुटु रोगीको संख्या निकै बढ्ने उनको अनुमान छ ।
सवारी साधन, धुलो र इँटाभट्टा मुख्य कारण
काठमाडौँको हानिकारक प्रदूषणको ९पिएम० स्रोतमा योगदानको आधारमा सवारी साधन ३८, धुलो २५, कृषि कार्य १८ र इँटाभट्टा ११ प्रतिशत रहेको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी बताउछन् ।
वायु प्रदूषणको तात्कालिक समस्या धुलो नै हो । दीर्घकालीन र व्यवस्थापन गर्न कठिन भनेको सवारी साधनबाट निस्कने धुवाँ हो । “उद्योग कलकारखाना, इँटाभट्टाबाट निस्कने धुवाँ र फोहरको नियमित अनुगमन एवं नियमनबाट व्यवस्थापन गर्न सकिन्छ,” उनी भन्छन् ।
उपत्यकाका विभिन्न अस्पतालबाट बिना प्रशोधन निस्कने पानी र फोहर स्वास्थ्यका लागि खतरा रहेको उनको भनाइ छ । महानिर्देशक दवाडी वातावरण संरक्षण गर्न विभिन्न मन्त्रालयअन्तर्गतका कार्यलाई आपसी संयोजन गर्न र विद्यमान कानूनी जटिलतालाई हटाउन प्रधानमन्त्री कार्यालयअन्तर्गत संयन्त्र बनाई काम गर्दा प्रभावकारी हुने धारणा राख्छन् ।
उपत्यकामा हाल ११२ इँटाभट्टा छन् । त्यसमध्ये ११० चिम्नीमा आधारित रहेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउछन् ।
बिहान र बेलुकी बढी प्रदूषण
वातावरण विभागले देशको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गरी कार्ययोजना तय गर्न देशभर वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ ।
हालसम्म पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुर, सौराहा, लुम्बिनी र पोखरामा तीन गरी १२ स्टेशनको स्थापना गरिसकेको विभागका सहायक प्रवक्ता मोहनदेव जोशी बताउछन्।
त्यसको २४ घण्टे तथ्याँक केलाउँदा दिउँसोको समय ९११ देखि ४० कम तथा बिहान र बेलुकीको समय बढी प्रदूषण देखिएको छ । वार्षिक तथ्याँक केलाउँदा कात्तिकदेखि माघसम्म अत्यधिक प्रदूषण हुने गरेको पाइएको छ ।
उपत्यकाको कचौरा आकारको भौगोलिक अवस्थाले बिहान, बेलुका तातो र चिसो हावा तलमाथि पर्ने समय हुने हुँदा प्रदूषण बढ्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा मेघनाथ धिमाल बताउछन्।
जाडो याममा सबै इँटाभट्टा बढी चल्ने र पानी कम पर्ने भएकाले वायु प्रदूषण दोब्बर हुन्छ । अनुसन्धान प्रमुख डा धिमाल भन्छन्, “परिषद्को अध्ययनमा उपत्यकाको वायु सरकारले तोकेको मापदण्डभन्दा तेब्बर र विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा आठ गुणा बढी प्रदूषित पाइयो ।”
कपडाको सामान्य मास्कले धुलो धुवाँका साना कण रोक्न नसक्ने भएकाले प्रदूषणबाट बच्न गुणस्तरीय मेडिकल मास्क लगाउनुपर्ने विज्ञको सुझाव छ ।
धुलोभन्दा धुवाँ घातक
वातावरणविद् भूषण तुलाधर स्वास्थ्यका लागि धुलोभन्दा धुवाँ बढी घातक भएको तर्क गर्छन्।
दृढ इच्छा शक्ति भए धुलोको समस्या तत्काल समाधान गर्न सकिन्छ तर धुवाँको समस्या घट्ने देखिँदैन । उनी भन्छन्, “धुलो क्षणिक समस्या हो र धुलोको कण धुवाँको तुलनामा ठूला हुन्छन् । तर धुवाँमा बढी हानिकारक र साना रासायनिक कण हुन्छन् ।”
धुवाँको प्रदूषणले क्यान्सरलगायत गर्भवती महिला र गर्भको शिशुको वृद्धिमा समेत नकारात्मक असर पार्ने वातारवणविद् तुलाधर बताउछन् ।
छोटो दूरीमा हिँड्ने, साइकल लेन बनाएर साइकल चलाउने र सुरक्षित वातावरणमैत्री सार्वजनिक यातायातको व्यवस्था गर्न सके प्रदूषणलाई धेरै नै कम गर्न सकिने उनको तर्क छ ।
सूचना प्रविधिको बढ्दो प्रयोगसँगै आम मानिसले प्रयोग गर्ने विद्युतीय सामग्री प्रयोगविहीन भएपछि उचित व्यवस्थापन गर्न नसक्दा यो अहिले मानव स्वास्थ्यका लागि नयाँ चुनौती थपिएको छ ।
महिला वातावरण संरक्षण समितिका अध्यक्ष विष्णु थकाली विद्युतीय प्रदूषण वायु प्रदूषणभन्दा बढी खतरनाक मान्नुहुन्छ र यसले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्ने बताउछन् ।
“प्रयोगविहीन मोबाइल, कम्प्यूटर, टिभी, ब्याट्री, फ्रिजजस्ता विद्युतीय सामग्रीको व्यवस्थापन बढी चुनौतीपूर्ण देखिएको छ, विद्युतीय प्रदूषण बाल्दा निस्कने धुवाँ र रसायनले स्वास्थ्यमा दीर्घकालीन र गम्भीर असर पार्छ”, अध्यक्ष थकाली भनछन् ।
काठमाडौँका कवाडी संकलन केन्द्रमा विद्युतीय सामान फुटाई त्यसमा रहेको बहुमूल्य धातु झिकेर बाँकी फोहर जलाई विसर्जन गरिन्छ । कृषि वस्तु, प्लाष्टिक र टायर बाल्दा वायु प्रदूषण धेरै हुने गरेको जानकारी दिँदै उनले यसलाई नियन्त्रण गर्न सचेतना जगाउनुपर्ने बताउछन् । विद्युतीय प्रदूषण नियन्त्रण गर्ने सम्बन्धमा हाल आवश्यक कानूनको समेत कमी रहेको सरोकारवालाको भनाइ छ । रासस
सम्पर्क इमेल : [email protected]