यस्तो बन्दैछ भृकुटीमण्डपमा पाँच तल्ले ब्लड बैंक भवन

काठमाडौँ, १८ फागुन । नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) भएकै स्थान भृकुटीमण्डमा नयाँ अत्याधुनिक ब्लड बैंक भवन बनाउने भएको छ ।

पुरानो भवन गत १२ बैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि व्लड बैंक भृकुटीमण्डपबाट सरेको थियो । अहिले भृकुटीमण्डपको सेवा अस्थायी रुपमा ललितपुरको बालकुमारीस्थित इमरेजेन्सी व्लड बैंक भवनबाट उपलव्ध गराइएको छ ।

थाई सरकारको करीब ४५ करोड आर्थिक सहयोगमा भृकुटीमण्डपमा बन्न लागेको पाँच तल्ले सो भवनको आज रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

विसं २०२३ देखि सुरक्षित र स्वच्छ रक्तसञ्चार सेवा तथा रगतको अनुसन्धानसमेत गर्दै आएको सो केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको थियो ।

सोसाइटीका प्रबन्ध निर्देशक एवं भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार पाँचतले अत्याधुनिक सो भवन १८ महिनाभित्र बन्नेछ । भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ । भवन निर्माणको जिम्मा लामा कन्ट्रक्सन कम्पनीले पाएको छ ।

नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा छ । हाल यसले करीव सबै जिल्लामा रक्तसञ्चार सेवा पु¥याएको छ । केन्द्रीय रक्तसञ्चार केन्द्रमा दैनिक ४०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

गत वर्ष मात्र केन्द्रले करीव तीन लाख ३७ हजार ३२१ युनिट रगतको सेवा दिएको थियो ।

कार्यक्रममा सांसद जीपछिरिङ शेर्पाले मापदण्डअनुसारको भवन समयभित्र गुणस्तरीय र सुरक्षित रुपमा बन्ने जानकारी दिए । कामपाका प्रमुख शाक्यले सामाजिक संघसंस्थाको भवन निर्माण गर्दा नक्शा पासमा करको छुटको व्यवस्था गरिएको जानकारी दिए ।

सोसाइटीका अध्यक्ष थापा र महामन्त्री देवरत्न धाख्वाले रगतको सुरक्षा र स्वच्छतामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

थाई राजदूत तान्स्कुलले आगामी दिनमा नेपाल रेडक्रसलाई थप सहयोग गरिने जानकारी दिए। रक्तसञ्चार केन्द्रका निर्देशक डा रेखा मानन्धर तथा थाई रेडक्रसका निर्देशक डा उबोनवोन चारुवाङग्रीटले रक्तसञ्चार सेवाको महत्वबारेमा बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *