बाबाको मिर्गौला, पुकारको प्रेरणा : नयाँ जीवनको आधार
पन्ध्र बर्षमा करातेको ब्ल्याक बेल्ट, १६ बर्ष मै बिहे अनि १८ बर्ष पुग्दा नपुग्दै मिगौला फेल । भर्खर उनन्तीस बर्ष लागेकी गीता श्रेष्ठको जीवनका मुख्य घटनाक्रम यति मात्रै हो भन्ने ठानियो भने त्यो अपुरो हुन्छ । किनभने यसपछिका एघार बर्षमा उनले आफ्ना जीवनका अझ महत्वपूर्ण उतारचडाव पार गरेकी छन् ।
हजुर, हामी जीवन केलाउदैछौँ एक जना मिर्गौला प्रत्यारोपी युवती गीता श्रेष्ठको ।
खोटाङ दिक्तेल स्थायी घर भई हाल ललिलपुरको सानेपा बसोबास गर्ने श्रेष्ठको आफै मिर्गौलाकी विरामी त हुन नै आफूजस्तै मिर्गौला प्रत्यारोपण गरेका र गर्न चाहनेका लागि प्रेरणाका स्रोत पनि ।
कलिलो उमेरमा राष्ट्रिय खेलाडी बनेकी उनी आफ्नै रहरले कलिलै उमेरमा बेहुली बनिन् । तर त्यो कलिलो उमेरका सुखद अनुभूति धेरै लामो समय टिक्न पाएन । किनभने उनको कलिलो उमेर (१८ बर्ष)मै दुबै मिर्गौला फेल भयो ।
त्यतिवेला जीवन करीब करीब सकिए जस्तो लागेको थियो विगत सम्झँदै उनले भनिन्, ‘तर त्यो निरासाको बादल पनि ममा धेरैसमय टिक्न सकेन । मैले आत्मविश्वास यति दह्रो बनाएँ कि त्यति ठूला ठानिएका मेरा जीवनका चुनौती सजिलै पन्छाएर अघि बढेँ ।’
मिर्गौैला प्रत्यारोपण गरेपछि आमा बनेकी गीताले आफ्नो पछिल्लो एघार बर्षको कथा यसरी सुनाइन :
यसरी फेल भयो मिर्गौला
खोई के कारणले हो मेरो सानै देखि उच्च रक्तचापको समस्या थियो । मैले औषधि पनि खाईरहेकी थिएँ । एक दिन रक्तचाप यसरी बढ्यो कि माथिको २५० र तलको १५० सम्म पुगेको रहेछ । त्यतिवेला नै मेरो दुबै मिर्गौला ड्यामेज भएको हो ।
गाँउमा जन्मे हुर्केकी केटी थिएँ । सानै देखि खेलकुदमा शौख थियो । १५ बर्ष नपुग्दै करातेमा व्ल्याक बेल्ट लिएकी थिएँ । राष्ट्रिय प्रतियोगितामा भिडिसकेकी थिएँ । तर रोग दुस्मन बनेर निस्कियो । शरीरलाई क्षति पुरयाएर गयो ।
माइतीको सहयोगमा पुर्नजन्म
मेरो सानै उमेरमा विहे भएको हो । माया बसिसकेपछि मागी विहे । तर विहे गरेको दुई वर्ष विताउन नपाउँदै दुईवटै मिर्गौला फेल भयो ।
त्यो पनि केही पछि थाह भयो । म विरामी परेपछि सुरुमा त घरबाट उपचारको लागि चासो लिइएको थियो तर भयंकर खर्च लाग्ने र बाच्ने सम्भावना नै कम हुने भन्ने हल्ला चलेपछि घरका परिवार पछि हटे । यद्धपी मेरो श्रीमान् मलाई जसरी पनि उपचार गर्नुपर्छ र बचाउनुपर्छ भन्नेमै हुनुहुन्थ्यो । तर पढदै गरेको भर्खरको विद्यार्थीले चाहेर मात्रै हुने होइन । खर्च उहाँको हातमा थिएन ।
म निकै निरास भईसकेकी थिएँ । यो सबै समस्या बुझेका मेरा बाबाले ढिला नगरी मेरो घरमा आउनुभयो र भन्नुभयो, ‘कत्ति निरास नहो छोरी म दिन्छु तलाईँ मिर्गौला । उपचारमा खर्च जति लाग्छ म बेहोर्छु ।’
सानै देखि छोराछोरीको उन्नती प्रगतिमा रमाउने मेरा बुबाको त्यो कुरा पछि म यत्तिकै खुशी भईहालेँ । बुबासंगै उपचारका लागि काठमाडौँ आएँ । काठमाडौँ आएर राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायलासिस गर्न थालियो । प्रत्यारोपण भने यहाँ हुने अवस्था थिएन । यहाँ नौ महिना डायलासिसमा विताएपछि भारतको चन्डीगडमा गएर प्रत्यारोपण गरियो ।
प्रत्यारोपणका लागि त्यतिवेला करीब १३ लाख रुपैयाँ लागेको थियो । मलाई मेरो बुबाले नै मिर्गौला दान गर्नुभएको हो । अहिले म बुबाको मिर्गौला लिएर बाँचेकी छु ।
आरोग्यसंगको सामिप्यता र खेलकुद यात्रा
मिर्गौला प्रत्यारोपण पछि फलोअप गरि रहनुपर्ने भएकोले मलाई बुबाले काठमाडौँमै डेरा खोजिदिएर बस्ने व्यवस्था गर्नु भयो । म यतै थिएँ । बेला बेलामा डाक्टरकोमा फलोअप गर्नुपर्दथ्यो । जाने गर्थेँ । त्यहाँ म जस्तै अन्य साथीहरु पनि भेट हुन्थ्यो ।
यत्तिकैमा एक दिन कुनै साथीले सुनाइन, ‘आरोग्य प्रतिष्ठानले मिर्गौैला प्रत्यारोपण गरेकाहरुबीच खेल खेलाउँदै छ रे’ भन्ने कुरा । पहिलेको खेलाडी भएर होला खेलकुद भन्ने वित्तिकै चासो भईहाल्यो । अनि साथीसंगै आरोग्यतिर बुझ्न गयौँ । हो रहेछ । म खेलकुदमा भाग लिने निधो गरेँ ।
नयाँ बर्षका बेला हुनुपर्छ । पहिलो पटक भएको त्यसप्रकारको खेलकुद अन्तरगर्त दौडमा भाग लिएँ र प्रथम भएँ । तपाईँलाई सुनाउँ, अहिलेसम्म यसप्रकारको खेलकुद ८ पटक भयो र हरेक बर्ष म प्रथम हुँदै आएकी छुँ ।
त्यतिवेला नै भेट भयो बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसंग । मिगौला प्रत्यारोपण गरेका व्यक्तिपनि कम छैनन् है भनेर उत्प्रेरित गर्न यस्तो खालको आयोजना गर्न थालिएको हो जस्तो लाग्यो । तर यसले हामीलाई धेरै नै उत्प्रेरित गरयो । उहाँसंग भेटभएपछि नियमित रुपमा सल्लाह सुझाव दिन थाल्नुभयो । खेलकुदमा हौसला दिइराख्नुहुन्थ्यो ।
यसैक्रममा तीन बर्ष अघि उहाँहरुकै प्रयासमा प्रत्यारोपिहरुबीच हुने अन्तराष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिन दक्षिण अफ्रिका समेत पुगेँ । त्यहाँको दौडमा पनि पहिलो त भएकैँ थिएँ तर नियम अनुसार भएनछ । लाइन क्रस नगरी दौडिनुपर्नेमा मेरो लाइन क्रस भएछ । पुरस्कृत भइन तर आयोजकले मेराबारेमा खुबै प्रसंशा गरेका थिए ।
सन्तान प्राप्तीको मोह
विहे पछि सन्तान प्राप्तीको मोह कसलाई नहोला र ? त्यसैले हामीलाई पनि हुनु स्वभाविक थियो । तर मेरो मिर्गौला फेल भैदियो । मर्ने बाच्ने नै ठेगान नभएका बेला सन्तान जन्माउने बारे सोच्न सकिने कुरा पनि भएन । तर जब प्रत्यारोपण भयो डाक्टरको फलोअप लिन थालियो । विस्तारै सन्तान प्राप्तिको मोह जागृत हुन थाल्यो ।
डाक्टरकै सल्लाहपछि प्रत्यारोपण गरेको चार बर्षपछि म आमा बने । छोरी जन्मिईन तर चार दिनमै उसको प्राणपखेरु उड्यो । त्यसको दुई बर्ष पछि पुन छोरा जन्मियो । अहिले छोरा चार बर्षको भईसकेको छ ।
प्रेरणाको स्रोत बाबा अनि डा. पुकार
एघार बर्ष अघि प्रत्यारोपण गर्न १३ लाख बढी खर्च भयो । त्यसपछि करीब तीन बर्षसम्म मासिक ३६ हजार बढीको औषधि खानुपथ्र्यो । घरबाट त्यतिका पैसा आउनेकुरा थिएन ।
यो सब बुबाले व्यवस्था मिलाउनुभयो । कसरी मिलाउन सक्नुभयो होला ? सम्झदै आङ सिरिङ्ग हुन्छ । पछि पछि त श्रीमान् पनि विदेश जानुभयो । कमाउन थाल्नुभयो र मेरो औषधोपचारमा सहयोग मिल्यो । त्यसैले पहिलो प्रेरणाको स्रोत बाबालाई मान्छु ।
मेरो दोस्रो प्रेरणाको स्रोत डा. पुकार चन्द्र श्रेष्ठ हुनुहुन्छ । प्रत्यारोपणपछिको निरास जीवनलाई अवसरमा बदल्ने उपाय उहाँले खोजिदिनुभयो । उहाँकै सहयोगमा मैले दक्षिण अफ्रिका पुगेर खेलकुद प्रतियोगितामा सहभागी हुने मौका पाएँ । यहाँ हुने हरेक प्रतियोगिता र कार्यक्रमहरुमा सहभागीता हुने अवसर पाएकी छु । उहाँले मेरो उपचार मात्रै होइन जीवन जीउने प्रेरणा समेत दिनु भएको छ ।
प्रस्तुति : रामप्रसाद न्यौपाने
सम्पर्क इमेल : [email protected]