पूर्वी पाल्पामा देखियो पशुबाट सर्न सक्ने डरलाग्दो रोग ‘एन्थ्रेक्स’
नेपाली हेल्थ / काठमाडौँ – पूर्वीपाल्पाको गल्धा गाँउ विकास समितिमा पशुबाट मानिसमा सर्न सक्ने रोग एन्थ्रेक्स देखा परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले गत साउन भदौबाट भकाभक पशुचौपाया मरेको र परीक्षणका क्रममा एन्थे्रक्सका जीवाणु भेटिएको जानकारी आइतबार स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई गराएको छ ।
महाशाखाले रोग मानिसमा सरे नसरेको जानकारी लिन केन्द्रबाट विशेष टोली सोमबार नै जिल्ला पठाउने भएको छ । महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले आइतबार तीन बजे महाशाखालाई जानकारी आएको भन्दै सोमबार नै टोली पठाउन लागेको बताए ।
एन्थे्रक्स लागेका पशुको दुध घिउ मासु खाने तथा गोवर पिसाव तथा स्वयं पशुको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने सम्भावना रहेको डा. मरासिनीले बताए । उनले गल्धामा मानिसमा सरे नसरेको जानकारी आइनसकेको भन्दै विशेष टोलीले अध्ययन पछि मात्रै भन्न सकिने बताए ।
डा. मरासिनीका अनुसार एन्थ्रेक्स रोग लागेपछि छाती, पेट र छालामा संक्रमण हुने भन्दै छाला बाहेक अन्य स्थानको संक्रमणले ज्यान नै जाने सम्भावना रहन्छ । ‘छातीमा संक्रमण भए छाती इन्फेक्सनदेखि निमोनियासम्म हुन सक्ने, उच्च ज्वरो आउने, पेट भित्र भए रगत बान्ता, डाइरिया हुने र छालामा भए डरलाग्दो खटिरा देखिन्छ’ डा.मरासिनीले भने ।
जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पा र जिल्ला पशुसेवा कार्यालय पाल्पाको संयुक्त बैठक पछि तत्काल थप अध्ययन तथा नियन्त्रणका लागि महाशाखालाई जानकारी गराउने निर्णय गरको थियो ।
सम्पर्क इमेल : [email protected]