गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गर्दा पक्राउ पर्ने १४ विदेशीमध्ये १३ जना चिनियाँ

काठमाडौँ, १८ माघ । गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गरिरहेको अवस्थामा गत सोमबार विभिन्न अस्पतालबाट पक्राउ परेका १४ विदेशीमध्ये १३ जना चिनियाँ नागरिक भएको पाइएको छ ।

एक जना भने अष्ट्रेलियन नागरिक छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीका अनुसार अस्पताल सञ्चालकका रुपमा रहेका ३ जना नेपालीलाई समेत पक्राउ गरेको थियो । उनीहरुका बारेमा थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले एक साताको म्याद थपिदिएको छ ।

ठमेलस्थित सरस्वती क्याम्पस अगाडी रहेको अपोलो इन्टरनेशनल पोलिक्लिनिकबाट ९ जना पक्राउ पर्दा ८ जना चिनिया नागरिक थिए । अपोलो की सञ्चालक ३२ बर्षीया मिनाकुमारी श्रेष्ठ बाहेक अरु सबै चिनियाँ हुन् ।

उनीहरुमा ३० वर्षीय ह्वाङ साउवेन, ४९ बर्षका ज्याङ शूहुभा, ६३ बर्षीय पान मेइ सोङ रहेका छन् । यस्तै ४० बर्षीय लाउ लिमिङ, २८ बर्षीय काइ शुटयान, ६० बर्षीया जीयाङ होङ्गोइ, ४८ बर्षीया लि लिहोङ र ४५ बर्षीया लिउ जी क्विन रहेका छन् ।

यस्तै बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टरबाट पक्राउ परेका दुई जना विदेशीमध्ये ४८ बर्षीय लोङ योनचावो, ४५ बर्षका लोङ गौयुङ पनि चिनियाँ नागरिक हुन् । चाइना ग्रेटवालका सञ्चालक ३७ बर्षीय नारायण तिमल्सिना पाल्पा खानीछापका हुन् ।

यस्तै बौद्यमै रहेको अर्को हस्पिटल चाइना पिपुल्सबाट पनि डाक्टरको रुपमा काम गरेका दुई जना चाइनीज पक्राउ परेका छन् । उनीहरुमा ३० बर्षका जोउ जीई, ६० बर्षका वाङ छिनलोउ रहेका छन् । यस्तै बौद्यकै अर्को हस्पिटल चाइनीज डेन्टलबाट ५६ बर्षका लि योङमाई पक्राउ परेका थिए । उनी पनि चिनियाँ हुन् ।

यता लैनचौरस्थित सिवेस हस्पिटल लैनचौरबाट एक जना नेपाली सञ्चालक बाहेक डाक्टरको रुपमा गैरकानूनी रुपमा काम गरिरहेको अवस्थामा अष्टेलियन नागरिक साराह अन्ने केम्प पक्राउ परेका छन् । सो अस्पतालको सञ्चालक कामनपा ३० कि प्रतिभा पाण्डे हुन् ।

सीआईवीले मुद्धा चलाउनु अघि उनीहरुको बारेमा नेपाल मेडिकल काउन्सिलसंग जानकारी लिएको थियो । तर आवश्यक विवरण नभेटेपछि ठगी गरेको अभियोगमा मुद्धा अघि बढाएको हो ।

सीआईवीले पक्राउ पर्नेहरुमध्ये कतिपय चिकित्सा विज्ञान सम्वन्धी कुनै अध्ययन नै नगरेका तथा कतिपयले काउन्सिलबाट अनुमति नपाएकाहरु रहेको बताएको छ ।

सीआईवीको उजुरीमा उनीहरुले विभिन्न किसिमको रोगहरु निको पार्ने अनुभवी र बरिष्ठ डाक्टरहरुबाट सेवा प्रदान भईरहेको भन्ने झुठा विज्ञापन दिई हजारौँ सर्वसाधारणलाई झुक्याई धोका दिएको र तथा स्वास्थ्य संस्थाका सञ्चालकहरु तथा तिनको मिलोमतोमा करोडौँ रुपैयाँ ठगी गरेको आरोप छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *