२९ जना विरामीलाई चेक हस्तान्तरण गरी ‘जिविकोपार्जन भत्ता’ शुभारम्भ

काठमाडौँ, ११ माघ ।  सरकारले क्यान्सरका उपचार गराईरहेका, मिर्गौला फेल भई डायलासिस गराईरहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई जिविकोपार्जन भत्ता उपलव्ध गराउन थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ र बीर अस्पतालमा उपचाररत २९ जना विरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।

प्रधानमन्त्री देउवाको हातबाट आज ट्रमा सेन्टरमा प्यारालाइसिसको उपचार गराईरहेका ६ जना, बीर अस्पतालमा क्यान्सरको उपचार गराईरहेका १२ जना र मिर्गौलाको उपचार गराई रहेका ११ जनाले जिविकोपार्जन भत्ता बुझेका हुन् ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले जटिल रोगबाट पिडीत विरामीका लागि राज्यका तर्फबाट थोरै राहत दिन भत्ताको व्यवस्था गरिएको बताए । उनले यो व्यवस्थाले राज्यलाई थप आर्थिक भार नपर्ने गरी व्यवस्था मिलाएको जानकारी दिए । उनले भने,’ हामीले सूर्तिको कर बढाएका छौँ र त्यसैबाट उपलव्ध हुने रकमबाट यसको व्यवस्थापन गरिनेछ ।’

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री दीपक बोहराले भत्ता बाढ्ने अभियान राजनीतिक नभई विशुद्ध सामाजिक भएको बताए । उनले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार रकमको व्यवस्था गरिएको भन्दै सूर्ती करकोषमा आउनुपर्ने २५ प्रतिशत रकमबाटै यसको व्यवस्थापन गरिने बताए ।

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले जटिल रोेगका विरामीका लागि सरकारको तर्फबाट भएको भत्ता दिने निर्णयले विरामी र उनका आफन्तलाई थोरै भएपनि राहत महसुस भएको बताए ।

स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले जिविकोपार्जन भत्ताका लागि अर्थ मन्त्रालयले थप बीस करोड रुपैयाँ उपलव्ध गराएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *