यतिवेला स्वास्थ्य सेवा प्रदान गराउनु चुनौतीपूर्ण कार्य : स्वास्थ्य सचिव डा. चौधरी
काठमाडौँ, १४ पुस । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघीय संरचनामा स्वास्थ्य सेवा प्रदान गर्नु अहिलेको चुनौती रहेको बताएकी छन् ।
उनले नयाँ संरचना अनुसार बजेट, जनशक्ति र पूर्वाधार बनिनसकेको र त्यसको कार्यान्वनयमा गई सक्नुपर्ने अवस्था भएकोले सेवा प्रदान गर्नु चुनौती रहेको बताएकी हुन् ।
सचिवमा पदोन्नती भएपछि जिम्मेबारी सम्हाल्न मन्त्रालय पुगेकी डा. चौधरीले चुनौतीपूर्ण घडीमा आफूले मन्त्रालयको नेतृत्वदायी ठाँउमा आईपुगेको भन्दै सबैको सहयोगमा यसको कुशल व्यवसथापन गर्ने बताइन ।
‘म यस्तो अवस्थामा यो जिम्मेबारीमा आएकी छु कि, एकातिर संघीयता अनुशार राज्यको स्वास्थ्यको पुर्न संरचना गर्नुपर्ने अवस्था छ । अर्को तर्फ नागरिकले संविधानप्रद्धत स्वास्थ्य सेवा पाउनुपर्ने छ । नयाँ संरचनाका लागि बजेट, जनशक्ति र पूर्वाधार बनिसकेका छैनन् । र यहि अवस्थामा हामीले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने छ,’ डा. चौधरीले अगाडी थपिन, ‘संरचना र भूमिका फरक भएपनि जनशक्ति पुरानै भएकोले सबैको सहयोगले यो चुनौति पार हुनेछ ।’
उनले अहिले देशका विभिन्न ठाँउबाट औषधिको अभाव भएका खबरहरु आईरहेको भन्दै त्यसका लागि करीब २० करोड बजेट स्थानीय तहमा पठाइने तयारी भएको बताइन ।
उनले अस्पताल र चिकित्सकहरुको सुरक्षा चुनौती समेत थपिएको बताइन । उनले अहिले संघीय निजामति ऐनमा स्वास्थ्य ऐन समेत समावेश गरिन लागिएको र केन्द्र तथा प्रादेशिक क्षेत्रको भूमिका स्पष्ट नभईसकेको अवस्था रहेको भन्दै अन्य मन्त्रालयसंग समन्वय गरेर अघि बढने बताइन ।
कार्यक्रममा प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले स्वास्थ्यले सक्षम नेतृत्व पाएको भन्दै डा चौधरीलाई सबैलाई साथ लिएर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा स्वास्य सेवा विभागका निमित्त महानिर्देशक डा. रमेश खरेल, आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सचिवलाई बधाई तथा शुभकामना दिएका थिए ।
सम्पर्क इमेल : [email protected]