प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै

पाल्पा, २९ मंसिर । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ ।

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन गरेको प्रविधि नेपालको शल्य चिकित्सा क्षेत्रमा अवलम्बन गर्ने र देशका जनताले पाउने स्वास्थ्य सेवालाई निरन्तरता प्रदान गर्दै लैजाने मूल उद्देश्य रहेको बताए ।

उनले पहिलेजस्तो एउटै चिकित्सकले सबै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता हटेको र सम्बन्धित विषय अध्ययन गरेको चिकित्सकले मात्र सम्बन्धित क्षेत्रका बिरामीको उपचार गर्ने बताए ।

समाजका महासचिव रुपेश मुखियाले नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित तथा समयसापेक्ष वृद्धि गर्दै लैजानका लागि २१औँ शताब्दीमा नयाँ प्रविधिको प्रयोग नेपालमा समेत बढेको बताए । उनले नेपालमा जटिल रोगको उपचार नयाँ प्रविधिका कारण सहज बन्दै गएको बताए ।

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले जटिल रोगको उपचारमा बिरामी आर्थिक समस्या भोग्न परेकाले बीमाबाट राज्यले बिरामीको समस्या हल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले नेपालको स्वास्थ्य उपचार क्षेत्र महँगो बन्दै गएकाले गरिब तथा विपन्न समुदायका मानिसलाई उपचारमा समस्या हुने भएकाले समाधानतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *