स्वास्थ्य सचिव डा. रेग्मीले पाइन अवकाश, निमित्तको जिम्मेबारी डा. पुष्पालाई
काठमाडौँ, १८ मंसिर । सचिवमा बढुवा भएको १६० दिन पछि स्वास्थ्य सचिव डा. किरण रेग्मीले अवकास पाएकी छन् ।
उनी गत ८ असारमा स्वास्थ्य मन्त्रालयको सचिव पदमा बढुवा भएकी थिइन । ६० बर्षे उमेर हदका कारण अवकाश पाएकी सचिव डा. रेग्मीलाई मन्त्रालयका कर्मचारीहरुले आजै विदाई गरेका छन् ।
रेग्मीको अवकाससंगै स्वास्थ्य मन्त्रालयमा सचिवको दौड शुरु भएको छ । बरिष्ठताको आधारमा प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीले अहिले निमित्त सचिवको जिम्मेबारी सम्हालेकी छन् ।
यद्धपी डा. चौधरीसंगै १२ औँ तहमा बढुवा भएका डा. विनोदमान श्रेष्ठ र केही दिन अघि १२ औँ तहमा बढुवा भएका डा. सुशील प्याकुरेल समेत सचिव बन्ने दौडमा रहेको देखिन्छ ।
चुनावको मुखमा रिक्त भएकोले स्वास्थ्यमा तत्कालै सचिवको निर्णय हुने सम्भावना कम देखिन्छ । तर जानकारहरुले चुनाव लगत्तै बस्ने मन्त्रिपरिषद बैठकबाट नयाँ सचिवको टुंगो लाग्न सक्ने बताएका छन् ।
डा. मोहन श्रेष्ठ भए मानसिक अस्पताल पाटनको निमित्त निर्देशक
यता ४ दिन देखि रिक्त भएको मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेबारी डा. मोहन श्रेष्ठले सम्हालेका छन् । यसअघिका निर्देशक डा .सुरेन्द्र शेरचन ६० बर्षे उमेर हदका कारण गत १४ मंसिरमा अवकाश पाएपछि सो पद रिक्त थियो ।
रिक्तपदमा बरिष्ठ मध्यबाट डा. श्रेष्ठले सो जिम्मेबारी पाएका हुन् । हाल उनलाई निमित्त निर्देशकको जिम्मेबारी दिइएको छ ।
सम्पर्क इमेल : [email protected]