प्रकाशको आकस्मिक मृत्युपछि मुटु परीक्षण गराउनेको संख्यामा बृद्धि
काठमाडौँ, ९ मंसिर । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको मृत्युपछि अस्पताल तथा क्लिनिकहरुमा मुटु परीक्षण गराउनेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । गत ३ मंसिर विहान अचेत अवस्थामा नर्भिक पुरयाइएपनि प्रकाशको सुतेकै अवस्थामा मृत्यु भएको चिकित्सकहरुले बताएका थिए । उनीहरुले प्रकाशको मृत्यु सडन कार्डियाक अरेष्ट (आकस्मिक हृदयघात)बाट भएको बताएका थिए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले दाहालको मृत्युपछि मुटु परीक्षण गराउन आउनेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताए । मृत्यु भएको दिन त उस्तै थियो तर त्यसको भोलिपल्ट देखि मुटु परीक्षण गराउन आउनेको भिड भएको छ । ‘परीक्षण गराउन आउनेहरु अधिकांश युवा भएको र उनीहरुले प्रकाश दाहालको जस्तो अवस्था हुने हो कि भन्ने डरले परीक्षण गर्न आएको भन्ने गरेका छन्,’ डा. रेग्मीले भने ।
अर्का मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले पनि मुटु परीक्षण गराउने युवाहरुको संख्या उल्लेख्य रुपमा बढेको बताए । ‘पहिले यति बढी थिएन तर अहिले युवापुस्ता मुटु परीक्षणका लागि आएका छन् । एक महिना अघि परीक्षण गराएकाहरु पनि पुन दोहोरयाएर परीक्षण गर्न आएका छन् । दाहालको मृत्युले एक हिसावले डर थपिदिएको छ अर्को हिसावले मुटु परीक्षणका लागि सचेत समेत गराएको छ ।’
यद्धपी डा. रेग्मी र डा. भट्टराई दुबैले प्रकाश दाहालको मृत्यु सडन कार्डियाक अरेष्टबाट भएको भनेर भन्न नसकिने बताउँछन् । ‘अहिले युवाहरुमा यो समस्या देखिएको छ । यो ठिक हो तर प्रकाश दाहालको हकमा उनको पोष्टमार्टम गरिएको छैन् । घरमै मृत्यु भएको पनि भनिएको छ । यस्तो अवस्थामा उनलाई यहि समस्याबाट ज्यान गयो भनेर भन्न सकिदैन्,’ उनीहरुले भने ।
के हो सड्न कार्डियाक अरेष्ट ?
डा. प्रकाशराज रेग्मी भन्छन्, कुनै पनि व्यक्तिमा जुनसुकै कारणले एक्कासी मुटुको गति बन्द हुने अवस्थालाई सड्न कार्डियाक अरेष्ट भनिन्छ । यो हृदयघातले पनि हुनसक्छ वा अरु कारणले पनि हुनसक्छ ।
मुटुको रक्तनलिहरुमा विभिन्न कारणले अवरोध पैदा हुन्छ त्यो अवरोधले मुटुमा रक्तसञ्चार हुन सक्दैन र त्यसले हृदयगति बन्द हुन्छ । यसलाई आकस्मिक हृदयघात भन्ने पनि चलन छ ।
एक साता अघि होलबडी चेक गराएका प्रकाशको मुटुमा कुनै समस्या देखिएको थिएन । तर एक्कासी आकस्मिक हृदयघात भएको चिकित्सकहरुले बताएका थिए ।
सम्पर्क इमेल : [email protected]