स्वास्थ्य बीमाले अब एक लाख सम्मको उपचार सेवा ‘कभर’ गर्ने

काठमाडौँ, ७ मंसिर । सरकारले स्वास्थ्य बीमाको उपचार सुविधा हालको भन्दा दोब्बर बढाएर एक लाख पुरयाउने तयारी गरेको छ । बीमा गराउनेहरुले अहिलेसम्म बार्षिक ५० हजार रुपैयाँको मात्रै उपचार सुविधा पाउने गरेका छन् ।

बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा.  गुणराज लोहनीले बन्दै गरेको स्बास्थ्य बीमा नियमावलीमा उपचार सुविधा दोब्बर अर्थात एक लाख पुरयाउने प्रस्ताव गरिएको बताए ।

उनले बीमा नविकरण गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिने तयारी भइरहेको बताए । तर उनले कति सहुलियत दिने भन्ने निर्णय भइनसकेको जानकारी दिए ।

त्यस्तै उनले बनाउँदै गरेको नियमावलीमा बीमा गरेको तर उपचार सुविधा नलिएको व्यक्तिको नविकरण पछि उपचार सुविधा लिने बेलामा केही सहुलियत थप्ने कि भन्ने तयारी भइरहेको समेत जानकारी दिए ।

बीमा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक गत २४ असोजमा व्यवस्थापिका संसदबाट पास भएपछि गत १ कात्तिकमा राष्ट्रपति कार्यालयबाट प्रमाणिकरण भएको थियो । त्यसयता ऐन कार्यान्वनयका लागि नियमावली बनाउने कार्य शुरु गरेको छ ।

जनतालाई गुणस्तरीय स्वास्थ्य उपचारमा सहज पहुँच पुरयाउने भन्दै सरकारले गत २५ चैत २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । अहिलेसम्म यो कार्यक्रम २२ वटा जिल्लामा लागू भएको छ ।

अहिलेसम्म बीमा कार्यक्रम लागू भएका जिल्लाहरु

पहिलो चरणमा : कैलाली, बाग्लुङ, इलाम
दोस्रो चरणमा : पाल्पा, कास्की, बैतडी, अछाम, म्याग्दी
तेस्रो चरणमा : चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट, भक्तपुर
चौथो चरणमा : बर्दिया, सुर्खेत, रोल्पा, सिन्धुली, सोलुखुम्बु, सुनसरी,  झापा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *