मिर्गौला रोगीलाई इजरायलबाट सहयोग
चितवन, १ मंसिर । अर्थ अभावले तीन बर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गर्न नसकेका चितवनको भरतपुरका एकजना मिर्गौला रोगीलाई इजरायलबाट रु एक लाख ८० हजार सहयोग प्राप्त भएको छ ।
भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको उपचारका लागि यसरी सहयोग आएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेको ३ वर्ष बित्दासमेत अर्थ अभावका कारण उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।
उनको उपचारका लागि इजरायलमा बस्ने भरतपुर–११ भोजाडका कमल गुरुङले रु एक लाख ८० हजार सहयोग गरेका हुन्। अहिलेसम्म उनले भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताएका छन् । रोगको पहिचान र डाइलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको जनाइएको छ ।
मधुमेह र रक्तचापको समेत रोग भएका गुरुङले पैसा नभएपछि सहयोगको याचना गर्दै आउएका छन् । शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेका उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरे ।
पछि राष्ट्रिय मिर्गौला उपचार केन्द्र, काठमाडौँमा उपचारका क्रममा चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका थिए । सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्न लाग्ने औषधि खर्च जोहो गर्नसमेत धौधौ भएको उनी बताउछन् ।
श्रीमान्को उपचार गर्नका लागि भएको सात धुर जग्गा पनि बिक्री गर्नुपरेको गंगामायाले बताइन् । उपचारका लागि करिब रु ३० लाख लाग्ने उनले बताइन् । उनले नै मिर्गौला पनि दिन लागेकी छन् । रासस
सम्पर्क इमेल : [email protected]