एन्टीबायोटिकको अनावश्यक प्रयोग नगर्न चिकित्सकको आग्रह

काठमाडौँ, ३० कात्तिक । एन्टीबायोटिक औषधिको अनावश्यक प्रयोग बढदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आम सर्वसाधारणलाई चिकित्सकको सल्लाह र निर्देशन अनुसार मात्रै एन्टीबायोटिक प्रयोग गर्न आग्रह गरेका छन् ।

एन्टीबायोटिकको बढी प्रयोगका कारण जिवाणुले जेनेटिक परिवर्तन औषधिले नभेटने अवस्था (एन्टीबायोटिक रेसिस्टेन्स) बढदै गएको भन्दै सहि बेला र सहि मात्रामा यसको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम) क्लिनिक फर्माकोलोजी विभागका सह प्राध्यापक डा सतिशकुमार देवले एन्टीबायोटिकको अति प्रयोगको कारण जोखिम बढेको बताए ।

विश्व स्वास्थ्य संगठनको रिपोर्ट प्रस्तुत गर्दै डा देवले अहिले संसारभर हरेक ४५ सेकेण्डमा एक जना व्यक्तिको मृत्यु हुने गरेको भन्दै यहि अवस्था रहे सन् २०५० सम्ममा हरेक ३ सेकेण्डमा एक जनाको ज्यान जाने अवस्था आउने बताए । उनले चिकित्सकको सिफारिसमा तोकिएको मात्रामा तोकिएको समयसम्म मात्रै एन्टीबायोटिकको प्रयोग गर्न सर्वसाधारण समक्ष आग्रह गरे ।

यसैबीच विश्व एन्टीबायोटिक जनचेतना सप्ताह नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । डिपार्टमेन्ट अफ क्लिनिकल फर्माकोलोजी, इन्स्टीच्युट अफ मेडिसिन र ग्लोबल एन्टीबायोटिक रेसिस्टेन्स पार्टनरसीप (गाभ नेपाल)को सहयोगमा गत मंगलबार देखि विविध कार्यक्रम गरी मनाइदै छ ।

आइओएमका सहप्राध्यापक डा देवका अनुसार त्रिवि शिक्षण अस्पताल, कान्तिपुर डेन्टल कलेज, बसन्तपुर डवलीमा फर्माकोलोजीका विद्यार्थीहरुको सहयोगमा स्टल राखी एन्टीबायोटिकका बारेमा जानकारी दिइएको छ ।

त्यस्तै उपत्यकाका ५ वटा स्कुलहरुमा ८ देखि १२ कक्षाका विद्यार्थीहरुलाई एन्टीबायोटिक रेसिस्टेन्स हुने अवस्थाका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको डा देवले बताए ।

यता औषधि व्यवस्था विभागले पनि एन्टीबायोटिक रेसिस्टेन्सको अवस्था भयावह रुपमा बढेको भन्दै यसप्रति सचेत हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका महानिर्देशक नारायण ढकालले एन्टीबायोटिकको अति प्रयोग हितकर नहुने भन्दै चिकित्सकको सल्लाहमा मात्रै यसको प्रयोग गर्न जोड दिएका छन् । सप्ताहव्यापी यो कार्यक्रम आगामी ३ मंसिरसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *