आइओएम एमबीबीएस परीक्षा प्रकरण : समितिले प्रतिवेदन बुझायो भोलि देखि छलफल हुने
काठमाडौँ, २८ कात्तिक । एमबीबीएस प्रवेश परीक्षा प्रकरणको छानवीन गर्न गठित जाँच बुझ समितिले आफ्नो प्रतिवेदन त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा बुझाएको छ ।
समितिका संयोजक प्राडा चिन्तामणी पोखरेलले अपरान्ह ४ बजे प्रतिवेदन उपकुलपति कार्यालयमा बुझाएको बताए । यद्धपी सो प्रतिवेदनमा दुई जना सदस्यहरुले हस्ताक्ष गर्न बाँकी भएकोले औपचारिक रुपमा ग्रहण गरि नसकेको उपकुलपति प्राडा तीर्थ खनियाले जानकारी दिए ।
पोखरेलको संयोजकत्वमा गठन भएको जाँचबुझ आयोगका छ सदस्य मध्ये प्राडा विष्णु खनाल र शिक्षा मन्त्रालयका प्रतिनिधिको हस्ताक्षर भएको छैन । ‘सम्भवत भोली उहाँहरुको हस्ताक्षर हुनेछ र हामीले औपचारिक रुपमा सो प्रतिवेदन ग्रहण गर्नेछौँ ‘ उपकुलपति प्राडा खनियाँले भने ।उनले प्रतिवेदन ग्रहण गरेपछि छलफलमा लैजाने र त्यसको आधारमा पुन परीक्षा हुने वा नहुने भन्ने बारेमा निर्णय गर्ने बताए ।
जाँचबुझ समितिका सदस्य पोखरेलले भने अपरान्ह ४ बजे आफूहरुले प्रतिवेदन त्रिवि समक्ष बुझाएको जानकारी दिए । ‘हामीले प्रतिवेदन बुझाएका छौँ, त्यसको अध्ययन गर्ने र निर्णय लिने जिम्मा काम त्रिविको हो ।’
गत २८ असोजमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले लिएको एमबीबीएस प्रवेश परीक्षामा इलेक्टोनिक डिभाईस का साथ परीक्षार्थी भेटिएपछि परीक्षा विवादमा परेको थियो । प्रहरीले त्यतिवेला परीक्षा दिइरहेका केही विद्यार्थी, उनीहरुलाई सघाएका केही चिकित्सक सहित डेढ दर्जन जतिलाई पक्राउ गरेको थियो ।
परीक्षामा सहभागी विद्यार्थी र महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सो दिन प्रश्न पत्र बाहिरिएको दावी गर्दै पुन परीक्षा हुनुपर्ने भन्दै आएका छन् । उनीहरुले दिनहुँ जसो आइओएम डीन कार्यालयमा गएर प्रदर्शन गरीरहेका छन् ।
आइओएमले भने त्रिविद्धारा गठित जाँचबुझ समितिको प्रतिवेदन पर्खिएको बताएको छ ।
सम्पर्क इमेल : [email protected]