पुन: प्रवेश परीक्षाको माग गर्दै आइओएम डीन अग्रवालको पुत्ला दहन

काठमाडौँ, २६ कात्तिक । एमबीबीएसको पुन प्रवेश परीक्षा लिने निर्णय गर्न ढिलाई गरेको भन्दै विद्यार्थीहरुले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा जगदीश अग्रवालको  पुत्ला जलाएका छन् । उनीहरुले प्राडा गोविन्द केसी विरुद्ध समेत चर्को नाराबाजी गरेका छन् ।

गत २८ असोजमा आइओएमले लिएको एमबीबीएस प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोेरेको सार्वजनिक भएपछि त्रिवि र नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले छुट्टा छुट्टै समिति खडा गरी छानवीन अघि बढाएको थियो । ती समितिले छानवीन प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आइओएमले नयाँ परीक्षा लिने वा पुरानोलाई नै मान्यता दिने भन्ने निर्णय गर्न सकेको छैन् ।

विद्यार्थीहरुले पहिलेको परीक्षा खारेज गर्न नसकेकोमा आइओएमका डीन सहितका पदाधिकारीहरुको मिलोमतो भएको आरोप लगाएका छन् । उनीहरुले चिकित्सा शिक्षा सुधारको अभियान्तको पहिचान बनाएका डा केसीले समेत यस विषयमा चासो नदिएको भन्दै उनी विरुद्ध समेत चर्को नाराबाजी गरेका छन् । स्मरणीय के छ भने डा केसीकै अनसनबाट डा अग्रवाल आइओएमको डीन बनेका हुन् ।

विद्यार्थीहरुले केसीको निर्देशन विना अग्रवालले केही पनि निर्णय लिन नसक्ने भन्दै केसी विरुद्ध समेत नारा लगाएका हुन् ।
यता विद्यार्थीहरुको आन्दोलनलाई महाराजगञ्ज मेडिकल क्याम्पसको स्ववियूले समेत समर्थन गर्दै आएको छ ।

स्ववियू अध्यक्ष डा मिलन गैरेले पुन परीक्षा हुनुपर्ने विद्यार्थीको मागमा आफूहरुको शुरु देखि नै समर्थन रहेको भन्दै यस विषयमा आफूहरुले समेत दवाव मुलक कार्यक्रम गर्दै आएको बताए । ‘हामीले सुरुका दिन देखि नै आन्दोलन यो कुरा उठाउँदै आएका हौँ तर एक महिना हुन लाग्यो त्यस विषयमा डीन कार्यालयले केही गरेको छैन । यसमा हाम्रो खेद छ,’ उनले भने ।

समितिले सोमबार प्रतिवेदन बुझाउँदै
उच्च स्रोतका अनुसार त्रिविले गठन गरेको छानवीन समितिले सोमबार त्रिवि पदाधिकारीहरुलाई प्रतिवेदन बुझाउँदै छ । त्यसपछि त्रिवि पदाधिकारीहरुले त्यो प्रतिवेदनको आधारमा आइओएमलाई निर्देशन दिने बुझिएको छ ।

त्रिवि उपकुलपति प्राडा तीर्थ खनियाले समितिले प्रतिवेदन बुझाइनसकेको भन्दै थप भन्न नमिल्ने बताए । उनले छिटै प्रतिवेदन आफूहरुले हात पार्ने र थप निर्णय गर्ने बताए ।

तपाईँहरुलाई अहिले यति भनु, ‘निर्णय अब छिटै हुन्छ । पहिले प्रतिवेदन आउन परयो ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *