२७ लाख बालबालिकालाई ‘भिटामिन – ए’ र जुकाको औषधि खुवाइदै
काठमाडौँ, १६ कात्तिक । सरकारले आज र भोलि देशभर रहेका साना उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार छ महिना देखि ५ बर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका करीब २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाईदै छ ।
महाशाखा अन्तरगर्तको पोषण शाखा प्रमुख राजकुमार पोखरेलले गत २ र ३ कात्तिकको तालिकामा तिहार परेकोले सो कार्यक्रम आज र भोलिका लागि तय भएको बताए । उनले आज देशभरका खोपकेन्द्रहरुमा महिला स्वास्थ्य स्वयंसेविकाले खुवाउने र भोलि छुटेकाहरुलाई स्वास्थ्य संस्थामा गएर खुवाउन सक्ने बताए ।
यसपटक कतिपयस्थानमा स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुलाई रक्तअल्पताबाट बचाउन बालभिटा वितरण गर्ने, पोषण स्थितिको जानकारी लिन पाखुराको नाप लिने लगायतका कार्यक्रम समेत गर्ने बताए ।देशभरका ५१ हजार बढी महिला स्वयंसेविका तथा अरु स्वास्थ्यकर्मीहरु औषधि खुवाउने कार्यक्रममा सहभागी हुने पोखरेलले बताए ।
भिटामिन एको कमिले बालबालिकामा हुनसक्ने कुपोषण, झाडापखाला, दादुरा लगायतकार रोग तथा जुका पर्ने समस्यालाई न्युनीकरण गर्न सरकारले सन् २००१ देखि हरेक ६ ६ महिनामा देशैभर यो कार्यक्रम शुरु गरेको छ ।
सम्पर्क इमेल : [email protected]