जीपी कोइराला श्वासप्रश्वास केन्द्रको डीपीआर बनाउने तयारी
काठमाडौँ, १५ कात्तिक । जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी गरेको छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झनामा चार बर्ष अघि स्थापित सो उपचार केन्द्रले अहिलेसम्म राम्ररी उपचार सेवा दिन सकेको छैन । तनहुँको दुलेगौडामा रहेको यो केन्द्रले अहिले स्थानीय सेतीगंगा अस्पताललाई आफूमा गाभेर त्यहिबाट सामान्य उपचार सेवा दिने गरेको छ ।
उपचार केन्द्रका अध्यक्ष एवं स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीले विगतमा समितिका सदस्यहरु कहिले रिक्त तथा कहिले फेरबदल हुने गरेकोले काम अघि बढ्न ढिलाई भएको बताइन् । उनले यतिवेला सबै सदस्य नियुक्त भइसकेको भन्दै अब भने कामले तिब्रता लिने जनाइन ।
गठन आदेशद्धारा स्थापित उपचार केन्द्रको सदस्यहरुमा डा कृष्णसागर शर्मा भरतपुर क्यान्सर अस्पताल, श्रीराम भण्डारी सामाजिक क्षेत्रबाट, सर्बदा खनाल, शेषमणि आचार्य, टिकाराम पंगेनी र नारायण सिग्देल सदस्य रहेका छन् । समितिमा अर्थ र स्वास्थ्य मन्त्रालयका एक एक जना प्रतिनिधी र तनहुँका प्रमुख जिल्ला अधिकारी पदेन सदस्य हुने व्यवस्था छ । केन्द्रको कार्यकारी निर्देशकमा डा यज्ञबहादुर भण्डारी रहेका छन् ।
स्वासप्रस्वास सम्वन्धी रोगकै कारणले ज्यान गुमाएका पूर्वप्रधानमन्त्री कोइरालाको नाममा सरकारले २०७० सालमा तनहुँको दुलेगौडामा जीपी कोइराला केन्द्र खोल्ने निर्णय गरेको थियो । सेतीगंगा अस्पताल र केन्द्रकै गरी सो स्थानमा ७ सय रोपनी जग्गा छुट्याइयएको छ ।
सम्पर्क इमेल : [email protected]